प्रदीपले भने– ‘हामीले काठमाडौंको चोक–चोकमा प्रोजेक्टरबाट फिल्म देखाउने त ?’ - Crazysaptahik.com

प्रदीपले भने– ‘हामीले काठमाडौंको चोक–चोकमा प्रोजेक्टरबाट फिल्म देखाउने त ?’

अभिनेता प्रदीप खड्काले फिल्म हलले ‘प्रकाश’ लाई उपयुक्त शो उपलब्ध नगराए काठमाडौंको चोक–चोकमा प्रोजेक्टरबाट फिल्म देखाउने बताए । फिल्मका लागि हलले राम्रो शो उपलब्ध नगराएको बिषयमा निर्माण युनिटले शुक्रबार रिपोर्टर्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदीप हल विरुद्ध निकै आक्रमक प्रस्तुत भए । ‘फिल्मको आउट लुक हेर्दा मास अपिलिङ लाग्दैन होला ।

तर, ‘प्रकाश’ नेपाली फिल्म क्षेत्रका लागि कलंकै हो भनेर पनि त कसैले भन्न सक्दैन होला’ उनले भने, ‘३ बजेपछि फिल्मको शो नै छैन ।’ आफ्नो घर ललितपुर भएको समेत बताएका उनले ३ बजेपछि फिल्म हेर्न चाहनेलाई शोको कारण प्लेन चढाएर विर्तामोड पठाउनुपर्ने बाध्यता बनाएको उनले सुनाए । फिल्म हेर्न जाँदा शो नै छैन भनेर हलले दर्शक फर्काएका उनको भनाई थियो ।

‘जुम्लाको समस्या र परिवेश काठमाडौंलाई थाहा हुनुपर्छ भन्ने उद्देश्यले फिल्म निर्माण गरेको भएपनि हलले राम्रो शो नदिँदा फिल्मको उद्देश्यमा बाधक भएको छ’ उनले थपे । शुक्रवारबाट प्रदर्शनमा आएको फिल्मलाई मल्टिप्लेक्सले थोरै शो दिएर बलिउड फिल्म ‘लाइगर’ लाई भने उच्च शो दिएको छ । सोही कारण फिल्म युनिटले आकस्मिक पत्रकार सम्मेलन गर्दै हल सञ्चालकविरुद्ध आगो ओकलेका हुन् ।

कार्यक्रममा निर्माता महेन्द्र अधिकारीले शो बाँडफाँटमा हल सञ्चालकले विभेद गरेको गुनासो पोखे । ‘हामीले दुःख गरेर बनाएको फिल्म शो नपाएका कारण हेर्न नै नपाउने भए ?’, उनले भने– ‘मेरो धारणा यत्ति मात्र होकि हामीले बनाएको फिल्म विहान, दिउँसो र बेलुका तीनवटै समयमा दर्शकहरुले हेर्न पाउनुपर्छ ।’ उनले आफुले बनाएको फिल्म राम्रो भएको दाबी गर्दै उनले विदेशी फिल्मलाई राम्रो शो दिनुपर्छ भन्ने मात्र छ र ? प्रश्न गरे । भने–‘कस्तो फिल्म बनाउने हलवालाले सिकाउनुस् न त ।’

‘प्रकाश’ राम्रो छैन, हेरिनु हुँदैन, नेपालीपन बोकेको छैन भनेर कसैले भन्छ भने म भोलि नै फिल्म हलबाट उतार्न तयार छु । नभए एक÷दुईजनाको सिन्डिकेटले फिल्मलाई मार्नुहुँदैन’ निर्माता अधिकारीले आक्रोस पोखे ।त्यस्तै, लेखक विकास सुवेदीले कुनै फिल्मले नेपाली समाजको कथा व्यथा बोकेर आउँछ भने त्यसलाई चल्ने फिल्म होइन भनेर ब्याख्या गरिनु गलत प्रवृत्ति रहेको बताए ।

नेपाली फिल्मको धार बदल्न नसकेको यस्तो सोचका कारण भएको बताएका सुवेदीले हल सञ्चालक र वितरकले कस्तो फिल्मलाई व्यावसायिक मानिरहेका छन् भन्ने कुरा अहिलेको सबैभन्दा ठूलो प्रश्न रहेको बताए ।शिक्षक बन्ने एक युवाले गर्ने संघर्षको कथामा बनेको यो फिल्ममा मुख्य पात्रका माध्यमबाट वर्गीय विभेदको कुरा पनि उठाइएको छ । फिल्ममा प्रदीपको अलवा दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.