भदौ १८ मा रिलिज हुन नसकेको ‘ए मेरो हजुर ४’ चैत्र २५ मा आउने - Crazysaptahik.com

भदौ १८ मा रिलिज हुन नसकेको ‘ए मेरो हजुर ४’ चैत्र २५ मा आउने

गतबर्ष नै चलचित्रको प्रदर्शन मिति तोकेर ढुक्कले बसेका धेरै निर्माताहरुलाई वैशाखमा दोश्रो चरणको कोरोनाको त्रास सुरु भएपछि तनाव भयो । अधिकांश निर्माताहरु चलचित्रको काम सकेर रिलिज गर्ने सोचका साथ अगाडि बढेका थिए ।

निर्माता सुनिलकुमार थापाले पनि चलचित्र ‘ए मेरो हजुर ४’को प्रदर्शन मिति भदौ १८ गतेलाई तोकेका थिए । तीज लक्षित चलचित्रको प्रदर्शन मितिले चलचित्र क्षेत्रलाई चलायमान बनाउने अपेक्षा पनि गरिएको थियो । तर, दोश्रो चरणको कोरोना महामारी र सरकारले जारी गरेको निषेधाज्ञाले चलचित्रको प्रदर्शन अस्तव्यस्त बनाइदियो ।

तर, ४ महिनापछि जिल्ला प्रशासन कार्यलय, काठमाडौंले उपत्यकाका हलहरु ५० प्रतिशत अकुपेन्सीमा खुल्न दिने निर्णय गरेसँगै निर्माताहरु प्रदर्शन मिति तोक्न अघि सरेका छन् । निर्माता सुनिल कुमार थापाले पनि चलचित्र ‘ए मेरो हजुर ४’लाई चैत्र २५ गते रिलिज गर्ने घोषणा गरेका छन् ।

निर्माता थापा र निर्देशक झरना थापाले सामाजिक संजालबाट यो चलचित्रको प्रदर्शन मिति तय गरेका हुन् । नयाँ बर्षलाई लक्षित गर्दै निर्माणपक्षले चैत्र २५ गते चलचित्र रिलिज गर्ने तयारी गरेको छ । अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतको मुख्य भूमिका रहेको यो चलचित्रको पोष्ट प्रोडक्शनको काम धमाधम चलिरहेको छ ।

नयाँ बर्षमा अन्य केही चलचित्रको पनि प्रदर्शन मिति तय गर्ने तयारीमा निर्माता थिए । तर, सुनिल र झरना एक कदम अगाडि सर्दै यो लोभलाग्दो मिति बुक गरेका छन् ।

सम्बन्धित खवर