आयकर विभागले छापा मार्दैमा मेरो काम रोकिदैनः सोनु सुद - Crazysaptahik.com

आयकर विभागले छापा मार्दैमा मेरो काम रोकिदैनः सोनु सुद

कोरोनाको समयमा आम मानिसहरुको मद्दत गरेर चर्चामा आएका बलिउड कलाकार सोनु सुदको घर तथा अफिसमा आयकर विभागले केही दिन अगाडि छापा मार्यो । आयकर विभागका कर्मचारीले सोनुको घरमा सोधपुछ मात्र गरेको बताएका छन् । तर, सोनुले भने आयकर विभागले छापा मारेको बताइरहेका छन् ।

सोनुले भारतीय मिडियासँग कुरा गर्दै यो कारवाहीले आफ्नो काम गर्ने शैलीमा कुनै परिवर्तन नआउने बताएका छन् । उनले भनेका छन्–‘आज पनि मानिसहरु मेरो घरको तल आएर सहयोगको आग्रह गरिरहेका छन् । मानिसहरु हिजो पनि आएका थिए र भोली पनि आउनेछन् ।

आयकर विभागले आफ्नो काम गरेको छ, म आफ्नो काम गरिरहन्छु । यो काम रोकिनका लागि सुरु गरिएको नै होइन । यो त सुरुवात मात्र हो । लामो यात्रा गर्नुछ र मानिसहरुको आर्शिवादले सबै कुरा ठिक हुनेछ ।’

सोनुले आफ्नो फाउन्डेशनले निक्कै राम्रो काम गरिरहेको पनि बताएका छन् । उनले भने–‘कैयौं मानिसहरुको अझै सर्जरी गर्न बाँकी छ । धेरै विद्यार्थीलाई पढाउनुछ । फाउन्डेशनले पहिले पनि राम्रो काम गरेको थियो र अब पनि गर्नेछ ।’

सोनुले आयकर विभागले आफ्नो घरमा छापा मार्दा ५३ हजार नपढिएको मेल आफूसँग रहेको पनि बताएका छन् । यस्तै, नपढिएका ८ हजार सन्देश पनि आफ्नो साथमा रहेको उनले सुनाए ।

५ दिनमा करिब २ लाख मानिसहरुले सहयोगका लागि आग्रह गर्ने सोनुको भनाई छ । सबैलाई मद्दत गर्न सम्भव नभएपनि आफूहरुले कोशिश भने गरिरहने उनको भनाई छ । सोनुले, मानिसहरुले गरेको विश्वासमा कहिले पनि पछि नपर्ने स्पष्ट पारेका छन् ।

सम्बन्धित खवर