जिल्ला प्रशासन कार्यलय काठमाडौंले उपत्यकाका हलहरु खोल्ने निर्णय गरेपनि चलचित्र संघले भने असोज २१ गतेबाट अंग्रेजी चलचित्र चलाउँदै हल खोल्ने तयारी गरेको छ । नेपाली चलचित्रका निर्मातालाई चलचित्र रिलिजका लागि वितरक र प्रदर्शकले पहल गरेपनि त्यो सफल हुन सकेन । कुनै पनि निर्माताले जोखिम मोल्ने आँट नै गर्न सकेनन् ।
यसैले, अब प्रदर्शकहरु विदेशी चलचित्रको भरमा नै हल अगाडि बढाउने सुरसारमा छन् । नेपाली चलचित्रका अधिकांश स्टार कलाकारका चलचित्र रिलिजका लागि तयार छन् । नायक पल शाह र नायिका पूजा शर्माको ‘म यस्तो गीत गाउँछु २’, नायक प्रदिप खड्काको ‘प्रेमगीत ३’, नायक अनमोल केसीको ‘ए मेरो हजुर ४’, नायिका स्वस्तिमा खड्काको ‘चपली हाइट ३ र चिसो मान्छे’, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको ‘तिम्रो मेरो साथ’, नायक पुष्प खड्काको ‘कृष्णलीला, मनसँग मन, तिम्रो मेरो साथ’, नायक आकाश श्रेष्ठको ‘हिड्दा हिड्दै र सम्हालिन्छ कहिले मन’ लगायतका चलचित्र रिलिजका लागि तयार छन् ।
नायक दयाहाङ राईका केही चलचित्र रिलिजको लागि तयार छन् । यस्तै, सौगात मल्ल, अनुप विक्रम शाहीका चलचित्र पनि पाइपलाइनमा छन् ।तर, चलचित्रका स्टार कलाकारहरुमध्ये थोरैले मात्र म्युजिक भिडियोमा काम गरेका छैनन् । होइन भने अधिकांश कलाकारलाई अहिले पनि भिडियोमा भ्याईनभ्याई नै देखिएको छ ।
हल खुलिसकेको अवस्था र चलचित्र रिलिजको लागि तयार भएको अवस्थामा पनि अधिकांश स्टार कलाकारले यो बिषयमा केही पनि बोल्न उचित ठानेका छैनन् । सबैजसो कलाकार निर्माताले जहिले लगाउँछन् सोही मिति नै ठिक छ भन्ने मनस्थितीमा छन् ।
पहिलो लकडाउनपछि हल खुल्दा पनि मौनतामा नै बसेका अधिकांश कलाकार यसपटक पनि यो बिषयमा चुइक्क बोल्न, आफ्नो कुरा राख्न आवश्यक नै ठान्दैनन् । चलचित्र क्षेत्र नचलेपनि भिडियोले चलिएको नै छ, पैसा कमाइएको नै छ भन्ने सोच अधिकांशमा देखिन्छ ।
भिडियोमा मात्र काम गर्ने कलाकारले ३०–४० हजारको हारहारीमा काम गर्दा चलचित्रमा काम गरेका कलाकारको पारिश्रमिक भिडियोमा लाख बढी छ । चलचित्रले नै बनाइदिएको ब्रान्डलाई बिकाएर उनीहरु भिडियोमा आफ्नो मुल्य महंगो बनाउँछन् । तर, यही चलचित्र क्षेत्रलाई समस्या पर्दा र उनीहरुको आवश्यकता चलचित्र क्षेत्रले खोजिरहँदा अधिकांश स्टार कलाकार मौन बस्छन् । के चलचित्रका स्टारहरुलाई भिडियोले नै हाईसन्चो भएको हो त ?