संगीतकार शुभबहादुर सुनामको निधन, जसले सेक्सोफोनलाई स्थापित गराए - Crazysaptahik.com

संगीतकार शुभबहादुर सुनामको निधन, जसले सेक्सोफोनलाई स्थापित गराए

सेक्सोफोन बाजालाई नेपाली संगीतको वाद्यवाधनमा स्थापित गर्ने चर्चित संगीतकर्मी शुभबहादुर सुनामको सोमबार बिहान ७४ वर्षको उमेरमा निधन भएको छ । नाति एलिश कार्कीका अनुसार छाउनीस्थित सैनिक अस्पतालमा बिहान ५ बजे सुनामको निधन भएको हो । लामो समयदेखि किड्नीको रोगबाट पीडित सुनामलाई राति असहज भएपछि अस्पताल लगिएको थियो । ‘किड्नीको समस्या थियो । डायलाइसिस पनि हुँदै थियो ।सोही क्रममा आज बिहान हजुरबुवाको निधन भयो,’ कार्कीले भने ।

दाहसंस्कारका लागि सुनामको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा लगिएको छ । सैनिक सलामीसहित उनलाई अन्तिम श्रद्धाञ्जली दिइने भएको छ । संगीतकार संघका पदाधिकारीसहित फिल्म र संगीतकर्मी पनि आर्यघाटमा उपस्थित भएका छन् । सुनामले ११ वर्षको उमेरदेखि नै नेपाली सेनाको ब्वाइज दर्जामा जागिर सुरु गरेर जर्नेलसम्म भएका थिए ।

सैनिक ब्यान्डमा रही उनी वाद्यवादन र तथा संगीत सिर्जनामा सक्रिय उनले तत्कालीन युवराज दीपेन्द्र शाहलाई समेत संगीत सिकाएका थिए ।रेलीमाई रेलीमाई, फूलैफूलको मौसम तिमीलाई, हुँ यात्री, पर लैजाऊ फूलहरु, गोरेटो त्यो गाउँको, यो नानीको शीरैमा, चिसो चिसो हावामा उनका हिट गीतहरु हुन् । उनी तारादेवीका समेत मनपर्ने संगीतकार थिए ।

उनले ७७५ भन्दा बढी गीतमा संगीत भरेका छन् । त्यसमा फिल्म, भजन, आधुनिक टीभी सिरियल, पप, बालगीत र राष्ट्रिय गीत समावेश छन् । उनले अधिकांश संगीत तारादेवी, प्रेमध्वज प्रधान, मीरा राणा, अनुराधा पौड्याल, कविता कृष्णमूर्ति, कुमार बस्नेत, प्राश्ना शाक्यका गीतमा समेत संगीत भरेका छन् । उनले पछिल्लो समय आफ्ना छोराहरुसहित नाति र नातिनीहरुलाई सेक्सोफोन वाधन र संगीततर्फ प्रेरित गरिरहेका थिए ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.