भुवन केसीविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने सूची’मा, पल शाहको पेशी असोज २६ मा - Crazysaptahik.com

भुवन केसीविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने सूची’मा, पल शाहको पेशी असोज २६ मा

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्ति खारेज गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा शुक्रबार पनि सुनुवाइ हुन सकेन ।सर्वोच्चले यो मुद्दालाई हेर्न नभ्याइने सूचीमा राखेको छ । शुक्रबार यो मुद्दा न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासमा परेको थियो । निवेदकतर्फका कानुन व्यवसायी सूर्यबहादुर पाण्डेले नयाँ पेशीको मिति बेलुकासम्म आउने बताए । अबको पेशी दशैंपछि तोकिन सक्ने सम्भावना रहेको उनले बताए ।

नरेशकुमार पौड्यालसहित पाँच जना अध्यक्षका दाबेदारले गत साउन ३० गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्ड र भुवन केसीलाई विपक्षी बनाई रिट दायर गरेका थिए । भुवन केसीको शैक्षिक योग्यतामाथि उनीहरुले प्रश्न उठाएका छन् । अदालतले अन्तरिम आदेशका लागि अंकभारसहितको सक्कल फाइल झिकाउन आदेश दिएपछि भुवनको मुद्दाको पेशी सर्दै आएको छ ।

भुवनलाई बोर्ड अध्यक्षको रुपमा नियुक्त गर्न मन्त्रालयले मापदण्ड घटाएको निवेदकहरुको जिकिर छ । अध्यक्ष बन्न स्नातक तह उत्तीर्ण हुनुपर्ने व्यवस्था कायम राख्न पनि निवेदकको माग छ । यसैबीच, बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ जिल्ला कारागारमा रहेका अभिनेता पल (पूर्णविक्रम शाह)को पेशी असोज २६ गतेलाई तोकिएको उनका कानून व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिएका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.