
चर्चित सांगीतिक ब्यान्ड नेपथ्यले ‘मानवता प्रवर्द्धन अभियान’ सञ्चालन गर्ने भएको छ । ब्यान्डले मानव सेवा आश्रमसँगको सहकार्यमा ‘म्युजिक फर ह्युम्यानिटी’ अर्थात् मानवताका लागि संगीत शीर्षकमा आगामी वर्ष उक्त अभियान चलाउने भएको हो ।
तीन दशक भन्दा लामो समयदेखि दर्शक\श्रोतालाई मनोरञ्जन प्रदान गरिरहेको नेपथ्यले संगीतलाई समायनुकूल सामाजिक अभियानमा पनि जोडिंदै आएको छ । मानव सेवा आश्रमलाई सहयोग पुयाउने उद्देश्यले ब्यान्डले विभिन्न कन्सर्टमार्फत आर्थिक सहयोग संकलनमा हातेमालो गर्ने नेपथ्यले जनाएको छ ।
नेपथ्यका मुख्य गायक अमृत गुरुङले भने, ‘अब नेपथ्यको प्रयास मानवताले भरिएको स्वदेश बनाउने हुनेछ ।’ मानव सेवा आश्रमका २३ वटै केन्द्रबाट हालसम्म ७ हजार ३६५ जनाले सेवा प्राप्त गरिसकेका छन् भने २ हजार ८२३ जनालाई उनीहरुको परिवारमा पुनर्स्थापित गराइसकिएको छ ।

