पाक कलासम्बन्धी रियालिटी शो ‘सेफ नेपाल’ मंसिरदेखि हिमालय टीभीमा - Crazysaptahik.com

पाक कलासम्बन्धी रियालिटी शो ‘सेफ नेपाल’ मंसिरदेखि हिमालय टीभीमा

पाक कलासम्बन्धी नेपाली टेलिभिजन रियालिटी शो ‘सेफ नेपाल’ मंसिरको दोस्रो सातादेखि हिमालय टीभीमा प्रसारण हुने भएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो ।

विजेताले २५ लाख रुपैयाँ पुरस्कार पाउने निर्माता धर्मराज पाण्डेले जानकारी दिए । शोमा ८० जनाबीच प्रतिस्पर्धा हुने भएको छ । नेपालमै पहिलोपटक खाना पकाउने कलासम्बन्धी प्रतिस्पर्धात्मक रियालिटी शो गर्न लागिएको हो ।

रियालिटी शोको प्रारम्भिक उद्घोष भने वैशाखमै गरिएको थियो । ‘त्यसपछि हामीले आन्तरिक तयारी एवं बजार प्रबर्द्धन गर्नुका साथै प्रतियोगीहरूको आवेदन लियौं,’ पाण्डेले भने । उनका अनुसार दुई सयभन्दा बढी आवेदन अनलाइनमार्फत परेकोमा ८० जना छनोट भएका छन् ।

‘अन्तर्राष्ट्रियस्तरको खाना पकाउने कलासम्बन्धी शोको रुपमा हामीले स्थापित गर्न लागेका हौं,’ पाण्डेले भने । उनले अगाडि भने, ‘सञ्जीव कपुरको खाना खजानालगायतको भारतीय टीभी शोहरू, बीबीसीको मास्टरसेफ, गर्डन राम्सेको हेल्स किचनजस्ता विदेशी कुकिङ शो हेर्दै आएका खानाका पारखीहरूले अब नेपालको आफ्नै कार्यक्रमबाट आनन्द प्राप्त गर्नेछन् ।’

शोले नेपाली खानाको संस्कृति र सन्तुलनलाई संसारमा परिचित गराउने आशा कार्यक्रम निर्माताले लिएका छन् । शोको निर्णायकमा सेफ गणेश ढकाल र भान्से लक्ष्मण भण्डारी छन् । अभिनेत्री प्रियंका कार्की कार्यकारी निर्मात्री तथा सेलिब्रिटी जज रहनेछिन् ।

सिमोस सुनुवारले निर्देशन गर्ने यो शोको छायांकन सेट चाहिं थिमिस्थित रोयल थाइ हस्पिटालिटीभित्र निर्माण गरिएको छ । अनलाइन अडिसनमार्फत प्राप्त आवेदनमध्ये ८० जना छानेर शोको युट्युब च्यानलमा प्रसारण गरिएको थियो ।

शोमा प्रतिस्पर्धा गर्न इच्छुकले अझै एक सातासम्म आवेदन दिन पाउनेछन् भने व्यावसायिक सेफलाई भने भाग लिन दिइने छैन । लाइभ अडिसनसँगै सुटिङ सुरु हुने र कुल १८ एपिसोड प्रसारण गरिने जनाइएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.