नेपाली फ्यानलाई तृप्ति नाड्करको भिडियो सन्देश : छोरा धीरजको फिल्म हेरिदिनुस् - Crazysaptahik.com

नेपाली फ्यानलाई तृप्ति नाड्करको भिडियो सन्देश : छोरा धीरजको फिल्म हेरिदिनुस्

शुक्रबार प्रदर्शन हुने फिल्म ‘बाबरी’लाई लिएर धीरज नाड्करका दुई अध्याय हुन सक्छन् । पहिलो– आमा तथा अभिनेत्री तृप्ति नाड्करको ‘लिगेसी’लाई निरन्तरता दिने र दोस्रो– आफू अभिनेताको रुपमा स्थापित हुने । यी दुई पक्षबाहेक अरु कुरा उनका लागि गौण हुन ।

फिल्मको बक्स अफिस अंकगणित उनको नियन्त्रणभन्दा बाहिरको कुरा हो । डेब्यु फिल्ममै फिल्म हिट गराउनुपर्ने दबाब कम्तीमा उनीमाथि छैन । धीरजले आफूले दबाब महसुस नगरेको बताए । ‘म आफूलाई एक्टरको रुपमा प्रस्तुत गर्न चाहन्छु । मैले सिक्छु र जान्नुछ ।

आमाले मलाई प्रेरणा पनि दिनुभएको छ,’ उनी भन्छन् । फिल्म प्रवर्द्धनका लागि धीरज यतिबेला नेपालमा छन् । सन् २००९ मा गोपीकृष्ण मुभिजको ‘कुसुमे रुमाल २’ गरेयता तृप्ति नेपाली फिल्मबाट पूरै ओझेलमा छिन् । उनी भारतमै शिक्षण पेसामा संलग्न छिन् ।

सम्झना, कुसुमे रुमाल, साइनो, लाहुरे, कोसेली, आमाको काख र दुनियाँजस्ता फेमिली ड्रामा फिल्ममा अभिनय गरेकी तृप्ति र नेपाली फिल्मको पछिल्लो पुस्ताबीच खाडल छ । उक्त खाडललाई छोरा धीरजमार्फत पुर्ने चाहना तृप्तिको देखिन्छ । अर्कोतर्फ, धीरज पनि आमाको उक्त अभिनय लिगेसीलाई निरन्तरता दिन चाहन्छन् ।

तृप्तिले एक भिडियो सन्देश जारी गर्दै धीरजको फिल्म बाबरीलाई हेर्न र मन पराइदिन नेपाली फ्यानलाई आग्रह गरेकी छन् । आमा र छोराबीचको यो रियल लाइफ केमेस्ट्री उक्त भिडियोमा हेर्न सकिन्छ । १० वर्ष लामो फिल्म करिअरमा धीरज आफूलाई नेपाली फिल्म खेल्न पाएकोमा खुसी महसुस गर्छन् ।

‘बाबरीबाट मैले साथीहरु कमाएँ र एउटा परिवार । योभन्दा पनि खुसी आमाको लिगेसीलाई निरन्तरता दिन सकेको छु,’ उनी भन्छन् । त्रिकोणात्मक कथावस्तुमा आधारित फिल्म ‘बाबरी’मा अदिती बुढाथोकी र धीरज मगरसँग नाड्करले सहकार्य गरेका छन् ।

सम्बन्धित खवर