टर्कीद्वारा सिरियामा युद्धविराम गर्ने अमेरिकि प्रस्ताव अस्वीकार - Crazysaptahik.com

टर्कीद्वारा सिरियामा युद्धविराम गर्ने अमेरिकि प्रस्ताव अस्वीकार


एजेन्सी । अमेरिकाले सिरियामा युद्धविराम गर्न राखेको प्रस्ताव टर्कीले अस्वीकार गरेको छ । उत्तरी सिरियामा युद्धविराम गर्न टर्कीका राष्ट्रपति रेजेप एर्दोगानले अस्वीकार गरेका हुन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीका राष्ट्रपति एर्दोगानलाई टेलिफोनमार्फत तत्काल युद्धविराम रोक्न भनेका थिए ।

सिरियामा युद्ध विरामको पहल गर्न अमेरिकी उपराष्ट्रपति माइक पेन्स र विदेशमन्त्री माइक पोम्पेओ टर्की जाने तयारी गरिरहेको बेला राष्ट्रपति एर्दोगानले युद्ध नरोकिने बताएका हुन् ।टर्कीका राष्ट्रपति एर्दोगानले कुर्द लडाकुहरूलाई सीमा क्षेत्रबाट हटाउन पश्चिमा विश्वसँगको आफ्नो सम्बन्धको जुनसुकै मूल्य चुकाउने बताएको बीबीसीले जनाएको छ ।

टर्कीमाथि आर्थिक प्रतिबन्ध

टर्कीले उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फर्काउने अमेरिकी निर्णयलगत्तै हवाई र स्थलगत आक्रमण शुरु गरेको थियो । सिरियाली कुर्द लडाकूविरुद्धको घातक आक्रमण गरेको भन्दै अमेरिकाले मंगलबार टर्कीमाथि आर्थिक प्रतिबन्धहरु लगाएको छ । अमेरिकाले टर्कीका दुईवटा मन्त्रालय र तीन वरिष्ठ अधिकारीहरूमाथि प्रतिवन्ध लगाएको छ । साथै स्टीलमा कर बढाउने र व्यापार सम्झौतासम्बन्धी वार्ताहरू समेत रोकेको अमेरिकाले जनाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले एउटा विवादास्पद कदमका रुपमा उत्तरी सिरियाबाट एक हजार अमेरिकी सैनिक फिर्ता गर्ने निर्णय गरेको केही दिनपछि नै टर्कीले आक्रमण थालेको थियो । टर्कीका राष्ट्रपति एर्दोगानले सिरियाली भूमिमा आक्रमण गर्नुको मुख्य उद्देश्य नै सुरक्षित इलाका निर्माण गर्नु मात्र रहेको बताएका छन् । उनले यो क्षेत्र सिरियाभित्र करिब ३० देखि ३५ किलोमिटरमा मात्र केन्द्रित हुने जानकारी दिए । मानव अधिकारका लागि सिरियाली अब्जरभेटरीले टर्कीको आक्रमणबाट आइतबारमात्र कम्तीमा २६ जना सर्वसाधारणको मृत्यु भएको बताएको छ । हालसम्म टर्कीको कारबाहीबाट ६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

ट्रम्पको आलोचना

उत्तरपूर्वी सिरियाको कुर्दिश लडाकूको नियन्त्रणमा रहेको यस इलाकाबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले आधिकारिक रूपमा अमेरिकी सहयोग रोकेर असाधारण कदम चालेको भन्दै आलोचना भइरहेको छ । राष्ट्रपति ट्रम्पका रिपब्लीकन सांसदहरूले समेत इस्लामिक स्टेट समूहबिरुद्ध लड्न अग्रसर भएका कुर्दहरूलाई मझधारमा छाडेको आरोप लगाएका छन् ।

टर्कीको आक्रमणपछि पूर्वी सिरियामा कुर्दिस विद्रोहीसँगको सम्झौतापछि सिरियाली सेना सीमाक्षेत्रमा पुगेको छ । सेनाको प्रवेशपछि टर्की र सिरियाली सेनाबीच संघर्ष हुन सक्ने आशंका गरिएको छ । सिरियाली सेना मेन्बिज सहरमा प्रवेश गरिसकेको सिरियाली सरकारी सञ्चार माध्यमले जनाएका छन् । यसअघि सिरियाको उत्तरी सीमामा टर्कीले गरेको आक्रमणको प्रतिकार गर्न राष्ट्रपति बसर अल असदको सरकार सेना परिचालन गर्न सहमत भएको सिरियाली कुर्दहरूले बताएका थिए ।
                                                                                                                               अनलाइनखबरबाट

सम्बन्धित खवर