सनम रोक्का
पथरी शनिश्चरे । लागुऔषध दुर्व्यसनी रोकथाम तथा नियन्त्रण गर्ने हेतुका साथ मोरङ पथरी शनिश्चरे ४ ले शुक्रबार एकदिने सचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
वडा नं. ४ कार्यालयको सहयोग र नेपाल पत्रकार मञ्च मोरङले आयोजना गरेको कार्यक्रमलाई इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब निरीक्षक (सइ) प्रकाश पराजुली र शसस्त्र प्रहरी बेस क्याम्प शनिश्चरेका प्रमुख सुबास गिरिले सहजीकरण गरेका थिए ।
प्रोजेक्टर मार्फत सहजीकरण गरिएको कार्यक्रममा उनिहरूले लागुऔषध सेवन गर्नुको कारण, असरहरू, रोकथाम तथा नियन्त्रणका उपायका बारेमा श्रव्य-दृश्य सहितको सचेतनामुलक सामग्रीहरू प्रस्तुत गरेका थिए । लागुऔषध सेवन गर्नेको संख्यामा न्यूनीकरण गर्नका लागि प्रहरी मात्र नभइ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयको पनि समान जिम्मेवारी रहने प्रहरी नायब निरीक्षक पराजुलीले बताए ।
प्रतिनिधिमुलक युवा, अभिभावक, सामाजिक अगुवाहरू गरि करिब ५० जनाको सहभागीता रहेको भेलामा सहभागी र सहजकर्ता बिच प्रशस्तै अन्तरक्रिया, सवाल प्रश्नोत्तरको क्रम चलेको थियो ।
कार्यक्रमको अध्यक्षता वडा नं. ४ का अध्यक्ष गोबिन्द बहादुर भण्डारीले गरेका थिए भने समाजसेवी मानबहादुर पौडेली, भोला रिजाल, भविन्द्र थापा, फूलमाया तामाङ, वडासदस्यहरू खडग बहादुर सुस्लिङ मगर, तुलसादेवी दर्जी,अम्बर बहादुर बराइली लगायतको उपस्थिति रहेको थियो ।