क्रेजी संवाददाता
कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका स्थित रमाइलो युवा परिवारले आयोजना गरेको ६ नं. वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा आयोजक टिम रमाइलो युवा क्लब प्रवेश गरेको छ ।
आज आइतबार भएको खेलमा वडा नं. ३ लाई १-० गोल अन्तरले पछि पार्दै आयोजक टिमले फाइनलको यात्रा सुनिश्चित गरेको हो । आयोजक टिमका लागि तारामान लिम्बुले गरेको १ गोलनै जितको लागि निर्णायक बन्यो । सो खेलबाट म्यान अफ दि म्याच विजयी टिमका गिरिजा लिम्बुले हात पारे । म्यान अफ द म्याचको पुरस्कार समाजसेवी महेश आचार्यले प्रायोजन गरेका थिए ।
भोलि सोमबार फाइनलको यात्रा तय गर्नका लागि वडा नं. ७ र ५ बिच प्रतिस्पर्धा हुँदैछ । दुवै टिम जितका लागि मैदानमा खरो रूपमा उत्रिन सक्ने संभावना प्रवल देखिन्छ । यस खेलबाट जित हासिल गर्ने टिम र आइतबारको खेलबाट फाइनल यात्रा तय गरेको आयोजक क्लब बिच खेल हुनेछ ।
खेलमा १ देखी ७ सम्मको वडा र आयोजक गरी जम्मा ८ टिम सहभागी भएका छन् । खेलमा पहिलो हुनेले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र र दोस्रो हुनेले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । खेल कानेपोखरी ६ रमाइलो स्थित जनसेवा माविको खेल मैदानमा भइरहेको छ । फाइनल खेल मंगलबार फुलपातीका दिन हुँदैछ ।


