स्वर्गीय काशीनाथ दाहालको स्मृतिग्रन्थ 'आदर्शको आकाश' सार्वजनिक - Crazysaptahik.com

स्वर्गीय काशीनाथ दाहालको स्मृतिग्रन्थ ‘आदर्शको आकाश’ सार्वजनिक

क्रेजी संवाददाता
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका-०६ रमाइलो स्थित जनसेवा माध्यमिक विद्यालयका पुर्व शिक्षक स्वर्गीय काशीनाथ दाहालको स्मृतिग्रन्थ “आदर्शको आकाश” विमोचन गरी सार्वजनिक गरिएको छ ।

विद्यालयको प्राङ्गणमा आयोजित दशैंको शुभकामना आदानप्रदान कार्यक्रमसँगै उक्त पुस्तकको विमोचन गरिएको हो । कानेपोखरी गाउँपालिकाको आयोजनामा सञ्चालित औपचारिक कार्यक्रममा जनसेवा मावीका पुर्व शिक्षक काशीनाथ दाहालको शैक्षिक जीवनको चर्चा र कम्युनिष्ट आन्दोलनमा दाहालले दिएको योगदानका बारेमा प्राथमिकताका साथ प्रशंसा गरिएको थियो ।

मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारीले दाहालको स्मृतिग्रन्थलाई प्रकाशन गरेको हो । विमोचन कार्यक्रममा सहभागी भएका प्रतिष्ठानका अध्यक्ष गुरु बराल सगसँगै अन्य सहभागी अतिथिहरूले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका थिए । काशीनाथ दाहालसँग जोडिएका अनुभवहरुलाई वक्ताहरुले फरक फरक प्रसङ्गसँग जोड्दै सुनाएका थिए । उनिहरूले कानेपोखरी, बयरबन र केरौन क्षेत्रको कम्युनिष्ट आन्दोलनमा भुमीगत अवस्था देखिका प्रजातन्त्र प्राप्तीसम्मको समयमा काशीनाथ दाहालको योगदान र सरल व्यक्तित्वको सबैले मुक्तकण्ठले प्रशंसा गरेका थिए । स्व. दाहालकी श्रीमती अम्बिका दाहाल र परिवारका सदस्यहरुलाई साथमा राखेर गरिएको कार्यक्रममा केही वक्ताहरू बोल्ने क्रममा भावुक समेत बनेका थिए ।

२०५४ सालमा बयरबन गाविसको अध्यक्ष भई काम गरेका दाहालको २०६२ सालमा ४७ वर्षका उमेरमा कलेजो रोगका कारण देहावसान भयो । मृत्यु भएको १७ वर्षपछि प्रकाशित दाहालको स्मृतिग्रन्थमा निजकी श्रीमती अम्बिका, छोरी कविता र निकट सम्बन्धमा रहेका राजनैतिक र शैक्षिक व्यक्तिहरुको अनुभव र विचारहरू समेटिएका छन ।
जेलको बसाई, मेरो राजनीतिको पहिलो गुरु, कम्युनिष्ट बनाउने मान्छे, जनसेवाका असल शिक्षक, बयरवनका शिरफु, समान व्यवहार, पार्टीको सारथी, असल योद्धा, निर्वाचनको कमाण्डर, काशी सरबाट सिक्ने कुरा लगायत ४३ जना लेखकले काशीनाथ दाहालको बारेमा लेखेका छन् ।
पुस्तक विमोचनसँगै सहभागीहरूले एकाअर्कासँग दशैंको शुभकामना साटासाट गरेका थिए ।

सम्बन्धित खवर