
तपाईं राजेशपायल राईको प्रशंसक हुनुहुन्छ भने यो खबरले तपाईंलाई सुखद आश्चर्यमा पार्नेछ ।खबर छ, ‘राजेशपायल राईलाई पुत्रलाभ भएको ।’ काठमाडौंकै ह्याम्स अस्पतालमा दुई महिनाअघि उनलाई पुत्रलाभ भएको बताइन्छ ।
स्रोतका अनुसार बच्चा जन्मिएका बेला तीन दिनसम्म राजेशपायल अस्पतालमै बसेका थिए । यतिबेला भने उनी कार्यक्रमका लागि अमेरिकामा छन् । राजेशपायलसँग लभिङ टुगेदरमा बसिरहेकी सङबुङ राईबाट सन्तान जन्मिएको हो ।
यद्यपि यस कुरालाई राजेशपायल राईले आधिकारिक रुपमा भने पुष्टि गरेका छैनन् । त्यसो त उनले आफुलाई अहिलेसम्म अविवाहित भन्दै आएका थिए ।
हरेक पटकको अन्तर्वातामा उनलाई नछुटाइने प्रश्न हुन्थ्यो, ‘विवाह कहिले गर्ने ?’ उनले यसको स्पष्ट जवाफ कहिल्यै दिएनन् । यससअघि अनलाइनखबरले राजेशपायल राई र सङबुङबीच प्रेम सम्बन्ध रहेको र उनीहरु चाडै नै विवाह गर्ने समाचार प्रकाशित गरेको थियो ।
उनीहरुले आफ्नो प्रेम सम्बन्धलाई गुपचुप राखेपनि विवाहको औपचारिक घोषणा गर्ने तयारीमा रहेको स्रोतको भनाई थियो । यद्यपि विवाहको टुंगो नलाग्दै उनलाई पुत्रलाभ भएको खबर बाहिरिएको हो ।
सङबुङ राईको टिकटकमा राखिएको एक भिडियोले यो खबरलाई पुष्टि गर्छ । उनले सुत्केरी अवस्था र भर्खरै जन्मिएका शिशुलाई राजेशपायलले स्यहारसुसार गरिरहेको भिडियो राख्दै अंग्रेजीमा लेखेकी छिन्, ‘श्रीमान–श्रीमती ।’
टिकटकमा सक्रिय सङबुङ राजेशपायलभन्दा २६ बर्ष कान्छी हुन् । उनको उमेर अहिले २० बर्षको छ भने राजेशपायल ४६ बर्षका । राजेशपायलले सङबुङलाई नक्सालको आफ्नै घरमा राखेको स्रोत बताउँछ । राजेशपायलको काठमाडौंमा दुई घर छ, नक्साल र शान्तिनगरमा ।
बिहे नगरी बुवा बन्ने रहर
अक्सर विवाहको कुरा गर्नसाथ राजेशपायल पन्छिने गर्थे वा हाँसेरै टार्ने गर्थे । कतिपय अवस्थामा चाहिँ उनले आफु विवाह नगरी नै सन्तानको बुवा बन्न चाहेको खुलासा गर्थे ।
एकपटक उनले भनेका थिए, ‘म सेरोगेसीबाट बच्चा जन्माउँ कि भन्ने थियो ।’ त्यती मात्र होइन, उनले यस विधीबाट जुम्ल्यहा सन्तानको बुवा बन्ने इच्छा प्रकट गरेका थिए ।

