जी–बबको परिवार र एएनटीएफबीच सम्झौता, कन्सर्टमा परिवारका सदस्य उपस्थित हुने - Crazysaptahik.com

जी–बबको परिवार र एएनटीएफबीच सम्झौता, कन्सर्टमा परिवारका सदस्य उपस्थित हुने

जी–बबको परिवार र अल नेपाल थग फेमिली (एएनटीएफ)बीच सम्झौता भएको छ । जसमा कन्सर्टदेखि सेयर बाँडफाँटसम्मका बुँदा समेटिएका छन् । हाकिम गुरुङको रोहवरमा एएनटीएफका प्रतिनिधि र जी–बबका आमाबुवाबीच बिहीबार राति लिखित सहमति भएको हो ।

यो सहमतिसँगै जी–बब पुनर्स्थापना केन्द्रबाट निस्किएर सांगीतिक अभियानमा पुनः सक्रिय हुनेछन् । नेपालमा हुने प्रत्येक कन्सर्टमा जी–बबको घरका एकजना सदस्य अनिवार्य उपस्थित हुने सहमति जुटेको छ ।

तर विदेशमा चाहिं भिसा लगायतका प्रक्रियामा यो बुँदा निर्भर हुनेछ ।जी–बबको एउटा कन्सर्टबाट प्राप्त हुने रकममध्ये ७० प्रतिशत हिस्सा परिवारले प्राप्त गर्नेछ भने बाँकी ३० प्रतिशत एएनटीएफले ।

रकम सिधै जी–बबका आमाबुवाको खातामा पठाइनेछ । हाकिम गुरुङले दिएको जानकारी अनुसार एएनटीएफले देश तथा विदेशमा गरी ५० वटा शो आयोजना गर्दैछ । यी प्रत्येक शोमा आमाबाबुले जी–बबलाई अनिवार्य उपस्थित गराउनुपर्नेछ र नगराएको खण्डमा क्षतिपूर्ति तिर्नुपर्ने सहमति पनि भएको छ ।

सहमतिअनुसार अब जी–बब सांगीतिक टुरमा सक्रिय हुनेछन् र शोका टिकट पनि बिक्री थालिनेछ । सहमति पत्रमा जी–बबका बुवा राजकुमार भण्डारी र आमा हरिमाया तथा एएनटीएफका तर्फबाट आशिष सुवेदीले हस्ताक्षर गरेका छन् ।

जी–बब अहिले गोदावरीस्थित एक पुनर्स्थापना केन्द्रमा छन् । उनको चालचलनमा पछिल्लो समय सुधार आएको जनाइएको छ । केही महिना पहिले छोरालाई बन्धक बनाएको भन्दै जी–बबका आमाबुबाले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका थिए ।

जी–बबले पनि आमाबाबुविरुद्ध उजुरी दिएपछि तनाव चुलिएको थियो । तर बिहीबार सम्झौता भएसँगै महिनौंदेखिको जी–बबको तनाव मत्थर भएको अनुमान गरिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.