क्रेजी संवादाता
काठमाडौं । बक्स अफिसमा फिल्म हिट हुनुले व्यावसायिक अर्थ मात्र बोक्छ वा यसको अर्को कुनै सन्देश छ ? अवश्य पनि, फिल्मको व्यावसायिक सफलताले दुई अर्थ बोकेको हुन्छ । पहिलो– दर्शकको मुड के छ ? दोस्रो– फिल्मको बजार के हो ? गत शुक्रबार नेपालमा रिलिज भएको जापानी फिल्म ‘वान पिस रेड’ले बक्स अफिसमा सफलता र उल्लेखित दुवै सन्देश बोकेको छ ।
लगानी र पर्दा संख्याको अनुपातमा रिलिज भएका अन्य चार फिल्मभन्दा यो फिल्मको कमाइ हिसाबले शीर्षस्थानमा छ । मल्टिप्लेक्सले आइतबारदेखि फिल्मको शो संख्यामा वृद्धि मात्रै गरेका छैनन्, अकुपेन्सी पनि सुखद छ ।
‘अचम्मै भइदियो, हामीले यत्रो कमाइको आशा राखेका थिएनौं,’ एप्पल इन्टरटेनमेन्टकी कविता महर्जनले भनिन्, ‘काठमाडौं भ्याली र बाहिरबाट कमाइ उत्कृष्ट छ ।’ फिल्मले शुक्रबार र शनिबार ४४ लाख र आइतबार १२ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।
तीन दिनमै ५६ लाख कमाउँदै जापानी एनिमे फिल्मले नेपालमा कीर्तिमान समेत रचेको छ । सन् २०२२ मा जापानमा सर्वाधिक कमाउने फिल्मको रेकर्ड पनि यसले राखेको छ । सोमबारसम्म ३२ वटा हलमा फिल्म चलिरहेको छ र मल्टिप्लेक्सले शो संख्यामा वृद्धि गरेका छन् ।
सोमबार बिहान र मध्यान्हमा समेत अकुपेन्सी ६० प्रतिशत हारहारीमा छ । वान पिस रेड फिल्मको सफलताले नेपालमा जापानी र कोरियाली एनिमे फिल्मकोे बजार वृद्धि भएको स्पष्ट संकेत दिन्छ ।
एप्पलले यसअघि पनि जापानी एनिमे रिलिज गरे पनि यस्तो कमाइ भएको थिएन । तर जापानमा निकै रुचाइएको एनिमे सिरिजको यो श्रृंखलाले नेपाली तन्नेरी दर्शकको बदलिंदो स्वादलाई भने चित्रण गर्छ ।
यसै महिना काठमाडौंमा आयोजित ओताकु जात्रामा समेत किशोरकिशोरीले जापानी मांगा र एनिमे सिरिजका पहिरनमा आफूलाई प्रस्तुत गरेका थिए । अहिले नेपाली फिल्म दुई नम्बरी दोस्रो सातामा राम्रै चलिरहेको छ भने भारतीय फिल्म कान्तारा पनि सुखद् चलिरहेको छ ।