विशिष्ट शोमा ‘नालापानी’ को प्रशंसा - Crazysaptahik.com

विशिष्ट शोमा ‘नालापानी’ को प्रशंसा

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइलाई आधार बनाएर निर्माण भएको फिल्म ‘नालापानी’ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्याल, नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपाली सेनाका बलाधिकृत जनरल शरदप्रताप राणा, केन्द्रीय चलचित्र जाँचपास समितिका अध्यक्ष सेवन्तक पोखरेल, नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय लगायतले हेरेका छन् ।

कात्तिक ४ गते देशव्यापी प्रदर्शनमा आउने यो फिल्मको आइतबार चलचित्र विकास बोर्डको हलमा गरिएको विशिष्ट शोमा यी व्यक्तिहरुले फिल्म हेरेका हुन् । चलचित्र हेरिसकेपछि विशिष्ट व्यक्तिहरुले ऐतिहासिक विषयवस्तुमा फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका थिए ।

पूर्व प्रधानसेनापति क्षेत्रीले ‘नालापानी’ उत्कृष्ट बनेको बताए । उनले भने, ‘नेपाललाई स्वाधिन राख्न हाम्रा वीर र वीरंगानाहरुले त्यो समयमा दिएको बलिदानको जीवन्त चित्रण फिल्मले गरेको छ ।’

क्षेत्रीले आफु प्रधानसेनापति रहेकै समयमा यो चलचित्र बनेको र त्यसमा नेपाली सेनाले पूर्ण सहयोग गरेको जिकिर गरे । पूर्वसचिव उपाध्यायले अहिले सस्तो रुपमा बुझ्ने गरेको नेपालको स्वाभिमान हाम्रो पुर्खाको रगतले जोगिएको हो भन्ने कुरा यो चलचित्रले सम्झाउने बताए ।

‘चलचित्रमा समावेश शत्रुले पनि प्रशंसा गरेको कुराले मन छोयो । सबै नेपालीले एकपटक हेर्नै पर्छ । यो चलचित्र धेरै अनुसन्धान गरेर बनाइएको छ । पुस्तकमा पढ्दा यतिधेरै विस्तारमा पढिएको थिएन । यो चलचित्र बनाउने आँट देखेर म दंग छु’ उपाध्यालले भने ।

हाम्रो राष्ट्रियता संरक्षणको लागि हाम्रो इतिहास महत्वपूर्ण हुने बताउँदै केन्द्रीय चलचित्र जाँचपास समितिका अध्यक्ष सेवन्तक पोखरेलले राष्ट्र र राष्ट्रियताको जगेर्ना हामीले कसरी गर्न सक्छौँ भन्ने कुराको शिक्षा यो चलचित्रले दिएको सुनाए ।

हल सञ्चालकहरुको छाता संगठन नेपाल चलचित्र संघका उपाध्यक्ष गोपाल कायस्थले सरकारले बनाउनुपर्ने चलचित्र व्यक्तिले बनाएको सन्दर्भमा सरकारले ट्याक्स फ्रि गर्नुपर्ने बताए ।

देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पूजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मीनाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीता बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका लगायतको अभिनय रहेको फिल्म रिमेश अधिकारीले निर्देशन गरेका हुन् ।

सम्बन्धित खवर