अभिनेता सलोन बस्नेतलाई यतिबेला रिल र रियल लाइफमा भ्याइनभ्याइ छ । मंसिर १२ गते प्रेमिका करिश्मा केसीसँग लगनगाँठो कस्ने तयारीमा रहेका उनको नयाँ फिल्म ‘मीलन’ कात्तिक १८ गते रिलिज हुँदैछ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्मको ट्रेलर सार्वजनिक गरियो, जहाँ सलोनले फिल्म र विवाहबारेका प्रश्नहरुको सामना गरे । फिल्म ‘मीलन’ रिलिज हुने बेला आफ्नो पनि वास्तविक मिलन हुन लागेको भन्दै उनले जवाफ दिए ।
टेक पौरखी राई निर्देशित फिल्मको ट्रेलरमा सलोनलाई शुभकामना दिन उनका पिता निर्देशक शोभित बस्नेत पनि उपस्थित थिए । राई निर्देशित यो तेस्रो फिल्म प्रेमकथामा आधारित छ ।
मित्रताबीचमा प्रेमको कारण आउने दरारको कथा भन्ने फिल्ममा सलोनसहित नयाँ अनुहारहरु कुशल ठकुरी, शिल्पा थापा, शिशिर बाङ्देलको प्रमुख भूमिका छ ।
युवापुस्ताको प्रेम, धोका र विछोडको कथावस्तुमा बनेको फिल्मलाई प्रवीण थापाले निर्माण गरेका हुन् । यो फिल्म उक्त मितिमा अर्को मल्टिस्टारर फिल्म ‘लाखे’सँग जुध्नेछ ।