नेपाल संगीतकार संघले प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका शीर्ष नेताको निवासमा देउसी–भैलो खेल्ने भएको छ । कात्तिक ६, ७ र ८ गते प्रधानमन्त्री निवास बालुवाटार, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवास कोटेश्वरमा संघले देउसी खेल्ने भएको हो ।
संघका अध्यक्ष तथा संगीतकार चेतन सापकोटाले शीर्ष नेताको दैलोमा देउसी–भैलो खेल्ने कार्यक्रम तय भएको जानकारी दिए । ‘देउसीमार्फत गणतन्त्रका उपलब्धिलाई संस्थागत गर्ने नेतृत्वलाई मतदान गर्ने सन्देश दिन चाहन्छौं,’ सापकोटाले भने ।
‘साथै स्रष्टाको हक अधिकार स्थापित गर्ने, पार्टीको एजेण्डामा संस्कृतिकर्मीको एजेण्डा राख्न र गणतन्त्र बचाउन आग्रह गर्ने सन्देश पनि देउसीमार्फत हुनेछ,’ उनले भने । संघका संरक्षक तथा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटादेखि अध्यक्ष सापकोटासम्मका संगीतकर्मीले देउसीमा प्रस्तुति दिने भएका छन् ।
देउसीबाट संकलित रकम अक्षयकोषमा संकलन गरिने जनाइएको छ । शीर्ष नेतासहित मिडियाका प्रकाशक र सम्पादकको निवासमा समेत संगीतकार संघले देउसी खेल्ने भएको छ ।