भाजपाबाट लोकसभा चुनाव लड्न चाहन्छिन् कंगना रनौत - Crazysaptahik.com

भाजपाबाट लोकसभा चुनाव लड्न चाहन्छिन् कंगना रनौत

बलिउड अभिनेत्री कंगना रनौत भारतको लोकसभा चुनाव लड्न चाहन्छिन् । सत्तारुढ भारतीय जनता पार्टीले चाहेमा आफू उम्मेदवार बन्न तयार रहेको उनले बताएकी छन् । चुनाव लड्नका लागि कंगनाले हिमाञ्चल प्रदेशको मन्डी सिटलाई पहिलो प्राथमिकता भएको बताएकी छन् ।

मिडिया ग्रुपको एक कार्यक्रममा कंगनाले राजनीतिमा आवद्ध हुने संकेत गरेकी हुन् । के तपाईं सक्रिय राजनीतिमा आउन चाहनुहुन्छ भनेर सोधिएको प्रश्नमा कंगनाले भनिन्, ‘राजनीतिलाई लिएर म खुला छु । हुँदिन भन्दिन ।

यस मामिलामा म आफूलाई मौका दिन सक्छु । यदि भाजपा वा हिमाञ्चलका जनता चाहन्छन् भने जनसेवाको लागि म हिमाञ्चलको मन्डीबाट आगामी लोकसभाको चुनाव लड्न सक्छु ।’

कंगनाले उक्त इभेन्टमा फिल्म मात्र नभएर राजनीतिक मामिलामा पनि आफ्नो दृष्टिकोण खुलेर राखिन् । उनले मुलुकको वर्तमान अवस्था र आगामी बाटोबारे पनि कुरा गरिन् । प्रधानमन्त्री नरेन्द्र मोदीको बलिया विरोधी नभएको भन्दै कंगनाले राहुल गान्धीविरुद्ध कटाक्ष गरिन् ।

अरविन्द केजरीवालको दल हिमाञ्चल प्रदेशमा आउन नसक्ने र जनताले हराइदिने दाबी पनि उनले गरिन् । कंगनाको यस्तो अभिव्यक्तिसँगै भाजपा अध्यक्ष जेपी नड्डाले कंगना राजनीतिमा आउन चाहे पार्टीमा स्वागत रहेको बताएका छन् ।

‘उनको जिम्मेवारी पार्टीले तय गर्छ । उनलाई पार्टीमा स्वागत छ । हामी त चाहन्छौं सबै जना पार्टीमा आउन् ।’ सन् २०२४ मा भारतमा आम निर्वाचन हुँदैछ ।

सम्बन्धित खवर