‘अवतार २’ यस वर्षकै लामो फिल्म, दर्शकले हलमा झण्डै ४ घण्टा बिताउनुपर्ने - Crazysaptahik.com

‘अवतार २’ यस वर्षकै लामो फिल्म, दर्शकले हलमा झण्डै ४ घण्टा बिताउनुपर्ने

जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार’को दोस्रो श्रृंखला आगामी पुस १ गते नेपालसहित विश्वभर प्रदर्शनको तयारीमा छ । फिल्मलाई लिएर दर्शकमाझ १३ वर्षदेखिकै उच्च पर्खाइ छ ।

तर फिल्मको लम्बाइलाई लिएर हल सञ्चालकलाई तनाव सुरु भएको छ । फिल्मको लम्बाइका कारण नेपाली हललाई पनि सकस हुने देखिएको छ । फिल्मको औसत लम्बाइ २ वा सवा दुई घण्टा हुने हो ।

तर अवतार : द वे अफ वाटरको लम्बाइ ३ घण्टा १४ मिनेट हुनेछ । त्यो भनेको हलको चार घण्टा समय ‘अकुपाइड’ हुनु हो । फिल्म प्रदर्शनअघिको समय, ब्रेक र प्रदर्शनपछिको एक्जिट समयलाई निर्धारण गर्दा दर्शकले हलमै झण्डै ४ घण्टा समय बिताउनुपर्नेछ ।

एक किसिमले अवतार २ ले दर्शकलाई धैर्यताको परीक्षा समेत लिनेछ । ‘अवतारको ३ घण्टा १४ मिनेट भनेको एउटा हलको ४ घण्टा अकुपाइड हुनु हो । त्यति नै समय दर्शकले हलमा बिताउनुपर्छ भन्ने हो ।

किनभने दर्शकलाई लामो समय टिकाउनु चुनौतीपूर्ण काम हो,’ आईएनआई मल्टिप्लेक्सका सुरेन्द्र थापाले भने । एउटै फिल्मलाई चार घण्टा दिंदा हलले कम शो पाउनेछन् । कमाइ पनि प्रभावित हुनसक्छ ।

रन–टाइम लामो हुँदा फिल्मको शो संख्यामा कमी आउनेछ । हलिउड रिपोर्टर म्यागजिनका अनुसार अवतार २ सन् २०२२ कै लामो फिल्म हुनेछ ।

सम्बन्धित खवर