फिल्म ‘महापुरुष’ हेर्न सिनेमा हलमा दर्शकको उपस्थिति उल्लेख्य देखिएको छ । वृद्ध उमेरका दर्शकले पनि फिल्मलाई रुचाएका छन् । आइतबार काठमाडौंको एक हलमा यस्तै दृश्य देखियो । ९१ वर्षीया वृद्धा भीममाया ओझा लौरो टेकेरै फिल्म हेर्न हलमा पुगिन् ।
गोंगबु बसपार्कस्थित आईएनआई हलमा फिल्म हेर्न उनी छोरीसहित गएकी थिइन् । स्थायी घर बागलुङ भएकी उनी पनातिको पास्नीका लागि काठमाडौं आएकी हुन् । महजोडीको पारिवारिक कथावस्तुमा फिल्म बनेकाले आमालाई फिल्म देखाउन ल्याएको उनकी छोरीले बताइन् ।
उनीहरुले अपरान्ह साढे २ बजेको शोमा फिल्म हेरे । यस्तै भक्तपुरको दुवाकोटका एकै परिवारका २८ जनाले शनिबार महापुरुष हेरेको थियो । दुई दिनमा साढे २ करोड रुपैयाँ ग्रस कमाइ गरेको फिल्मले आइतबारसम्म तीन करोडको आँकडा पार गर्ने अनुमान छ ।