चलचित्र ‘जीवन काँडा कि फूल’ यही साता रिलिज - Crazysaptahik.com

चलचित्र ‘जीवन काँडा कि फूल’ यही साता रिलिज

साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ आउँदो साता मुलुकभर एकसाथ रिलिज हुने भएको छ । चलचित्र बनेको लामो समयपछि आउँदो सातादेखि प्रदर्शन हुन लागेको हो ।

चलचित्रले साढे तीन दशक पहिलेको ग्रामीण समाजको अवस्था उतारेको घिमिरे बताइन् । उनले आफ्नो मात्र नभएर फरक शारीरिक अवस्था भएका व्यक्तिको भोगाइका रूपमा आफूले चलचित्रलाई लिएको बताइन् । ‘मेरो पुस्तकमा आधारित चलचित्र प्रदर्शनी हुने खबरले खुसी छु,’ उनले खुट्टाले लेख्दै प्रतिक्रिया दिइन्, ‘यो मेरो र परिवारको मात्र कथा नभएर साढे तीन दशकअघिको नेपाली ग्रामीण समाजको चित्रणका रूपमा सबैको बुझाइ रहोस् भन्ने आग्रह गर्छु।’ घिमिरेले आफ्नो जीवन भोगाइ संगालेर लेखेको कृति ‘जीवन काँडा कि फूल’ ले मदन पुरस्कार प्राप्त गरेको थियो। चलचित्रमा रहेको प्रमुख पात्र झमक, कृष्णबहादुर, आशादेवी र मीनालाई झमककै परिवारका रूपमा मात्र बुझाइ भए गलत हुने उनको भनाइ छ । साढे तीन दशक पहिले फरक शारीरिक अवस्था भएका व्यक्तिले भोग्नुपरेको जटिल अवस्था अहिले भने तुलना गर्न नसकिने उनको दाबी छ ।

आमाबुबाले असाध्यै माया गर्ने भए पनि चलचित्रमा केही छुच्चो रोल भएको प्रति भने घिमिरेको मन दुखाइ छ । त्यसलाई फिल्मको कथाका रूपमा मात्र लिनुपर्ने उनको तर्क छ । घिमिरेको धनकुटा ६, कचिडेस्थित निवासमा उनको बहुप्रसिद्ध कृति ‘जीवन काँडा कि फूल’ मा आधारित फिल्मबारे जानकारी दिन निर्माता तथा निर्देशक विनोद विष्ट पुगेका थिए ।

अघिल्लो वर्ष नै झमकको गृहनगर धनकुटामा घिमिरेसामु उक्त फिल्मको च्यारिटी शोसमेत गरिएको विष्टले बताए। झमक घिमिरेको जीवनमा आधारित भएकाले जोकोहीले हेर्नैपर्ने विष्टको भनाइ छ । विष्ट ब्रदर्शको ब्यानरमा निर्माण भएको चलचित्र ‘छुट्टै विशेषता बोकेको भएकाले सहज रूपमा रुचाइने आशा’ गरेको उनले बताए । घिमिरे सानो छँदाको पुरानो घर र पुस्तकमा वर्णन गरिएअनुसारका दृश्य जुटाएर कृत्रिम घर निर्माण गरी घिमिरे निवास कचिडेमा अधिकांश छायांकन गरिएको थियो । विष्टका अनुसार ९० प्रतिशत धनकुटा र बाँकी धरान तथा राजधानीमा छायांकन भएको छ । सुरु र अन्त्यमा झमक स्वयंसमेत फिल्ममा देखिन्छिन् ।

भिडियो हेर्नुहोस् :-

https://www.youtube.com/watch?v=YVqxJF824KQ

 

– थाहा खबर

सम्बन्धित खवर