बलिउड सुपरस्टार सलमान खानको प्रतीक्षित चलचित्र ‘अन्तिम’लाई महंगो रकममा नेपाल भित्र्याइएको छ । यो चलचित्रलाई ‘ए एट फिल्मस्’ले १ करोड ३५ लाखमा नेपाल भित्र्याएको हो । ‘अन्तिम’ शुक्रबार अर्थात् नोभेम्बर २६ तारिखबाट विश्वभर रिलिज हुँदैछ ।
चलचित्र नेपालका १२५ वटा हलमा लाग्ने वितरक कम्पनीले जानकारी दिएको छ । ‘ए एट फिल्मस्’ गोपीकृष्ण मुभिजको सिस्टर्स कम्पनी हो । जसका अध्यक्ष निरक पौडेल हुन् । महेश भी मन्जेरकरको निर्देशनमा तयार भएको यो चलचित्रमा सलमान खानको लगानी छ ।
चलचित्रमा सलमान खान र आयुष शर्माको मुख्य भूमिका छ । चलचित्रमा सलमान खान प्रहरीको भूमिकामा देखिएका छन् । सलमान र आयुषबीचको एक्सन पनि दर्शकका लागि प्रतीक्षित बनेको छ ।कोरोना महामारीपछि रिलिज भएको चलचित्र ‘सूर्यवंशी’ले बक्स अफिसमा बम्पर कमाइ गरेको छ ।
सलमानको यो चलचित्रले पनि दर्शकलाई हलसम्म तान्ने अपेक्षा गरिएको छ । नेपालमा सलमानका हजारौं प्रशंसक भएकाले पनि यसले नेपालमा सुखद् व्यापार गर्ने अपेक्षा गरिएको छ ।