दीपकराज गिरी भन्छन्– उमेर हदको कुरा हरेक क्षेत्रमा लागु हुनुपर्छ - Crazysaptahik.com

दीपकराज गिरी भन्छन्– उमेर हदको कुरा हरेक क्षेत्रमा लागु हुनुपर्छ

अन्त्यानुप्रास मिलेका चार पंक्ति लेख्दै अभिनेता तथा फिल्म निर्माता दीपकराज गिरीले फेसबुकमा उद्घोष गरे, ‘आफ्नो भोट खेर फाल्दिनँ, ६० काटेकालाई हाल्दै हाल्दिनँ ।’ त्यसो त समसामयिक कुरामा उग्रै चासो दिने कलाकार हुन्, दीपकराज गिरी ।

उनको यस्तो चासो सामाजिक सञ्जालमा छ्यापछ्याप्ती हुने गर्छ । चुनावी सरगर्मी बढ्दै जाँदा उनले जुन स्टाटस राखे, त्यसले राजनीतिप्रति उनको स्वभाविक चासो र धारणा व्यक्त भएको छ ।

तर सार्वजनिक व्यक्तित्व बनाइसकेका अभिनेता गिरीले ‘६० काटेकालाई हाल्दै हाल्दिनँ’ भन्ने कुरा आफैंमा कति व्यावहारिक र समझदारीपूर्ण छ त ?गिरीको बुझाइमा सरकारको नेतृत्व ‘उमेर भएकाहरुले’ गर्नुपर्छ ।

उनी भन्छन्, ‘पार्टीको नेतृत्व बुढापाकाले गर्दा पनि हुन्छ । तर सरकार चलाउन उनीहरु योग्य छैनन् । सक्षम छैनन् । अरु त परको कुरा, शालिकमा माला चढाउनसम्म नसक्ने, हातखुट्टा काँप्ने नेताहरु सरकारमा छन् ।

सरकारका लागि दौडधुपमा छन् । उनीहरुले घाँटीमा लगाउनुपर्ने माला खुट्टामा पुग्ने अवस्था छ ।’ बुढापाकाहरुको यस्तो दौडधुपले युवाहरु अवसरबाट वञ्चित भएको उनको बुझाइ छ । युवाहरु नेतृत्वमा आए आशावादी हुन सकिने गिरी बताउँछन् ।

‘बुढाहरुले भन्दा उनीहरुले केही न केही त गर्छन्,’ अभिनेता गिरी भन्छन् । अभिनेता गिरीको भनाइमा उमेरले बुढो भइसकेपछि शरीर जीर्ण हुँदै जान्छ । जीर्ण भएपछि तीक्ष्ण बुद्धि हुँदैन ।

उनको तर्क छ, ‘यदि उमेरको अर्थ हुँदैनथ्यो भने सरकारले कर्मचारीलाई किन उमेर पुगेपछि सेवा निवृत्त गरी घर पठाउँछ ?’ यसको अर्थ उमेर ढल्किंदै गएपछि मान्छेको कार्यक्षमता र कार्यशैलीमा हस आउँछ भन्ने उनको भनाइ छ ।

अभिनेता गिरी भन्छन्, ‘त्यसैले उमेर ढल्केकाहरुलाई भोट दिइरहन पर्दैन भन्न खोजेको हुँ । उनीहरुलाई अभिभावकको भूमिकामा बस्नुहोस् भनेको हुँ । युवापुस्ताले प्रधानमन्त्री बन्न ८० वर्ष कुर्नुपर्ने अवस्था छ । यो अवस्थाको अन्त्य हुनुपर्छ भन्न खोजेको हुँ ।’

यद्यपि विश्व राजनीतिको परिदृश्य उनले बुझेभन्दा फरक छ । दुई छिमेकी मुलुक चीन र भारतका कार्यकारी प्रमुख उमेरले ७० वर्षको हाराहारीका हुन् । भारतीय प्रभानमन्त्री नरेन्द्र मोदी ७० वर्षका हुन् भने चीनका राष्ट्रपति सी जिनपिङ ६९ वर्षका भए ।

उता अमेरिकी राष्ट्रपति जो बाइडेनको उमेर ७९ वर्ष छ । यसरी खोज्दै जाने हो भने कतिपय मुलुककका कार्यकारी प्रमुख उमेरले ८० वर्ष माथिका छन् । अभिनेता गिरी भन्छन्, ‘मेरो आसय जोश जाँगर भएका युवालाई प्रत्यक्ष चुनावमा पठाएर तपाईंहरु बरु पार्टीका काममा लाग्नुहोस् ।

युवालाई साथ र सहयोग गरेर काम गर्ने अवसर दिनुहोस् भनेको हुँ ।’ उमेरले साथ नदिएपछि हाम्रा नेताहरुको कार्यक्षमता शिथिल एवं कमजोर भएको उनको प्रष्टीकरण छ । अभिनेता गिरी भन्छन्, ‘आफ्नो शरीर नै काबुमा राख्न नसक्ने नेताले काम गर्न सक्दैनन् । काम गर्नका लागि शरीरले पनि साथ दिनुपर्छ ।’

अभिनेता गिरी थप्छन्, ‘६० वर्ष पार गरेकाले सरकारको नेतृत्व नगर्नुहोस् । किनभने सरकारको नेतृत्व गर्ने काम जोश जाँगर भएका युवालाई दिनुहोस् ।’यहाँ ओशोको भनाइ सान्दर्भिक हुन्छ । ओशो भन्छन्, ‘युवा हुनु उमेरसँग खास सरोकार राख्दैन ।’

युवापन त्यस्तो गुण हो, जसमा गतिशीलता, जागरुकता, उत्सुकता, सक्रियता हुन्छ । साथै युवाहरु सधैं आशावादी हुन्छन् । सकारात्मक हुन्छन् र रचनात्मक पनि । जसरी उमेर ढल्किंदै गएपछि राजनीतिक नेतृत्वमा परिवर्तन आउनुपर्छ भन्ने अभिनेता गिरीको बुझाइ छ, के यो अरु सबै क्षेत्रमा लागु हुन्छ ?

अभिनेता गिरी भन्छन्, ‘उमेर हदको कुरा हरेक क्षेत्रमा लागु हुन्छ । कलाकारितामा पनि निश्चित उमेर हुनुपर्छ । उमेर सुहाउँदो काम गर्नुपर्छ । उमेरले गर्न नसक्ने काम मन लागे पनि गर्न सकिंदैन ।’

उनी थप्छन्, ‘म कलाकार हुँ । मेरो उमेर बगैंचामा भर्खरका हिरोइनसँग नाच्ने, मायाप्रेमका कुरा गर्ने होइन । यस्ता कुरा मलाई सुहाउँदैन । मलाई उमेर र शरीरले दिंदैन । हरेकले उमेर अनुसारको भूमिका निभाउनुपर्छ ।’

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.