नेपालमा यसरी खिचियो फिल्म ‘उचाइ’, अनुपम खेर भन्छन्– जीवनकै चुनौतीपूर्ण फिल्म - Crazysaptahik.com

नेपालमा यसरी खिचियो फिल्म ‘उचाइ’, अनुपम खेर भन्छन्– जीवनकै चुनौतीपूर्ण फिल्म

बलिउड फिल्म ‘उचाइ’ आगामी साता नेपालमा समेत रिलिज हुँदैछ । नेपालका पर्यटकीय थलोमा छायांकन भएकाले पनि नेपाली दर्शक यसको प्रतीक्षामा छन् । झण्डै एक महिना नेपालमा रहेर छायांकन गरिएको यो फिल्मले नेपालमा मात्र २० करोड रुपैयाँभन्दा बढी खर्च गरेको अनुमान छ ।

ठूलै संख्यामा आएको भारतीय कलाकार र प्राविधिकको टोलीले नेपालको मनाङ र लुक्ला पुगेर छायांकन गरेका थिए । नेपालको पर्यटन प्रवद्र्धन गर्न पनि यो फिल्मले मद्दत गर्ने आशा राखिएको छ ।

अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनी डेनजोङ्पा र परिणिती चोपडा स्टारर फिल्म नेपालमा कसरी सुटिङ गरियो भन्ने जान्नु धेरै चाखलाग्दो विषय समेत हो । निर्माण कम्पनी राजश्री फिल्म्सले नेपालमा फिल्म ‘उचाइ’लाई कसरी छायांकन गरियो भन्नेबारे रोचक र आकर्षक भिडियो सार्वजनिक गरेको छ ।

जहाँ कलाकार र प्राविधिकले आ–आफ्नो भोगाइ व्यक्त गरेका छन् । अभिनेता अनुपम खेरले उचाइ छायांकन आफ्नो अभिनय करिअरको सबैभन्दा कठिन भएको बताएका छन् । उनी भन्छन्, ‘जब तपाईं महान् फिल्म बनाउँदै हुनुहुन्छ भने ठूला घटनासँगै अघि बढ्नुपर्छ ।

मलाई जम्बो जेटमा डर लाग्थ्यो । लामो समयसम्म म प्रकृतिसँग यत्तिको नजिक भएको थिइनँ । मैले ३७ वर्षमा धेरै कठिन ढंगले फिल्म गरें । यो सबैभन्दा चुनौतीपूर्ण थियो ।’ निर्देशक सुरज वर्जत्य सबै छायांकन आउटडोरमा हुँदा आफ्ना लागि चुनौतीपूर्ण भएको बताउँछन् ।

भन्छन्, ‘प्रत्येक दिन चुनौती महसुस भयो । किनभने मैले बनाएको शैलीको फिल्म यस्तो थिएन । सबै छायांकन आउटडोर थियो ।’ अभिनेत्री परिणिती चोपडाले नेपाल चिसो भए पनि छायांकनमा आफूले रमाइलो महसुस भएको बताएकी छन् ।

अभिनेता बोमन इरानीले आफूलाई मनाङ एकदम मन परेको अनुभव सुनाएका छन् । उनी भन्छन्, ‘म मनाङलाई धेरै मन पराउँछु । त्यहाँ शान्ति, ताजा हावा र एकअर्काको मित्रता थियो । समस्या जस्तोसुकै होस्, सिर्जनासामु समस्या सानै हुन्छ ।’

सम्बन्धित खवर