
यतिबेला नेपालका हलमा चार फिल्म प्रदर्शनरत छन् । उचाइ, महापुरुष, वाकान्डा फरेभर र दृश्यम २ । हरिवंश आचार्य स्टारर ‘महापुरुष’ शुक्रबार देखि चौथो सातामा प्रवेश गरेको छ ।
निर्माताले अहिलेसम्म फिल्मले सात करोड रुपैयाँ हाराहारीमा ग्रस कमाइ गरेको उल्लेख गरेका छन् । चौथो शुक्रबार पनि मल्टिप्लेक्समा महापुरुषको अकुपेन्सी लोभलाग्दो छ । चुनाव छेकोमा पनि क्यूएफएक्स लगायतका मल्टिप्लेक्समा महापुरुषको कमाइ सुखद् छ ।
नेपालसहित अमेरिका, अस्ट्रेलिया र क्यानडामा समेत रिलिज भएको फिल्म आगामी नोभेम्बर २० देखि युरोपमा प्रदर्शन हुँदैछ । महापुरुषले विदेशबाट समेत राम्रो कमाइ गरेको अनुमान छ ।
हलिउड फिल्म ब्ल्याक प्यान्थरको दोस्रो श्रृंखला ‘वाकान्डा फरेभर’ले पहिलो साता नेपाली बक्स अफिसमा एक करोड ९० लाख ग्रस हाराहारीमा कमाइ गरेको छ । दोस्रो शुक्रबार पनि फिल्मको अकुपेन्सी मल्टिप्लेक्समा उत्कृष्ट देखिएको छ ।
अभिनेता चाडविक बोसम्यानको निधनको संवेदनाको प्रभाव पनि बक्स अफिसमा देखिएको छ । बलिउड फिल्म ‘उचाइ’को पहिलो साताको कमाइ एक करोड ३० लाख हाराहारीमा छ । कम शोको बाबजुद पनि फिल्मले सुखद् कमाइ गरिरहेको छ ।
नेपालमै छायांकन भएकाले पनि नेपाली दर्शकमाझ फिल्मले राम्रो वर्ड अफ माउथ प्राप्त गरिरहेको छ ।वर्ड अफ माउथ बलियो भएकाले चुनावपछि पनि ‘महापुरुष’ र ‘उचाइ’ले आफ्नो प्रदर्शनलाई निरन्तरता दिनसक्ने अनुमान छ ।

