विश्व रेकर्डका लागि कालापत्थरमा नाचे जेडी तमु र छिरिङ शेर्पा - Crazysaptahik.com

विश्व रेकर्डका लागि कालापत्थरमा नाचे जेडी तमु र छिरिङ शेर्पा

जेडी तमु र छिरिङ शेर्पाको जोडीले सगरमाथा क्षेत्रको कालापत्थरमा ‘सर्वाधिक उचाइमा कोरियोग्राफी गरिएको युगल नृत्य’मा विश्व कीर्तिमानका लागि प्रयत्न गरेको छ । जेडी र छिरिङ नृत्यमा आधारित टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’बाट चर्चामा आएका हुन् ।

छिरिङ विजेता हुन् भने जेडी कोरियोग्राफरतर्फका सेकेण्ड रनरअप हुन् । पाँच हजार ३०० मिटर उचाइको कालापत्थरमा तीन मिनेट तीन सेकेण्ड लामो गीतको छायांकन गरिएको तमुले जानकारी दिए ।

मारुनी, साकेला, झ्याउरे, तामाङसेलो र स्याब्रु मिश्रण गरिएको गीतको भिडियोमा जेडी र छिरिङले अभिनय गरेका छन् । सर्वाधिक उचाइमा छायांकन गरिएको युगल नृत्यमा अहिलेसम्म कसैले कीर्तिमान नराखेकाले आफूहरुले प्रयास गरेको तमुले बताए ।

उक्त नृत्यको निर्देशन सरस्वती धिमालले गरेकी छन् । भिडियोमा प्रेम पौडेलको छायांकन र अभय पोखरेलको स्टिल फोटोग्राफी छ । छायांकनमा गिनिजको तर्फबाट नेपाल प्रतिनिधि चित्रबहादुर कार्की उपस्थित थिए ।

छायांकनको प्रमाण गिनिजको लण्डन मुख्यालयमा पठाइएपछि अनुमोदन हुनुपर्नेछ । त्यसपछि प्रमाणपत्र प्राप्त भएपछि कीर्तिमानले आधिकारिकता पाउनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.