मंसिर २१, काठमाडौं । लोकप्रिय गायन रियालिटी सो ‘दि भ्वाइस अफ नेपाल सिजन–२’ को उपाधि राम लिम्बुले जितेका छन् ।
आज (शनिबार) राति काठमाडौंको बौद्ध चुच्चेपाटीस्थित हयात ग्राउण्डमा भएको ग्राण्ड फिनालेमा अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै राम पहिलो उपाधि जित्न सफल भएका हुन् ।
उनले १२ लाख नगद पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै १० लाख बराबरको भिडियो एल्बम, एक वर्षको विदेश भ्रमणको पनि अवसर पाएका छन् । साथै ड्याटसन रेडी गो कार पनि उनले प्राप्त गरेका छन् ।
दर्शकको भोटको आधारमा निर्णय भएको हो । दिप श्रेष्ठको टिमबाट ब्याटल राउण्डमा आउट भएका रामलाई प्रमोद खरेलले स्टिल गरेर आफ्नो टिममा ल्याएका थिए ।
विजेताको घोषणा हुनअघि फिनालेमा पुगेका चारै प्रतियोगीहरु टिम दिपबाट विकास लिम्बु, टिम आस्थाबाट आरिफ रौफ, टिम राजुबाट सनिस श्रेष्ठ र टिम प्रमोदबाट राम लिम्बु र कोचहरुले आ–आफ्नो प्रस्तुति दिएका थिए ।
दर्शकको बाक्लो उपस्थिति रहेको फिनालेमा भ्वाइस अफ नेपाल सिजन १ का सी.डी विजय अधिकारी, चर्चित गायिका टिका प्रसाईं, गायक श्रीजया थपलिया लगायतले प्रस्तुति दिएका थिए ।
यसअघि सिजन १ को फिनाले कतारको दोहास्थित एसियन टाउन ग्रान्डमल सनैयामा भएको थियो ।