प्रकाश सपूतको डेब्यु चलचित्र ‘परदेशी २’ अर्को दशैंमा ! - Crazysaptahik.com

प्रकाश सपूतको डेब्यु चलचित्र ‘परदेशी २’ अर्को दशैंमा !

२०७७ सालको दशैंमा प्रदर्शन गर्ने योजनाका साथ चलचित्र ‘परदेशी–२’ को छायाँकन शुरु गरिएको थियो । तर, कोरोना महामारी फैलिएपछि चलचित्र छायाँकनकै क्रममा रोकिन पुग्यो । कोरोनाको पहिलो लहर सकिएपछि बाँकी छायाँकन पूरा गरियो ।

र, २०७८ सालको दशैंलाई प्रदर्शन मिति तोकियो । फेरि कोरोनाको दोस्रो लहरमा निषेधाज्ञा लागू भएपछि यस वर्षको दशैंमा पनि यो चलचित्र प्रदर्शनमा आउन सकेन । ‘परदेशी–२’लाई नारायण रायमाझीले निर्देशन गरेका हुन् ।

नारायण इन्टरनेशनल प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रको निर्मातामा राजेश वंशल र नारायण रायमाझी छन् । चलचित्रमा दिलीप रायमाझी, प्रशान्त तामाङ, प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, नीर शाह, सुशील पोखरेल, रमा थपलिया, देवेन्द्र बब्लू लगायतका कलाकारको अभिनय छ ।

गायक तथा मोडल प्रकाशको यो डेब्यु चलचित्र हो । प्रकाशको डेब्यु र त्यसमाथि सुपरहिट चलचित्र ‘परदेशी’को सिरिज भएका कारण यो चलचित्रलाई प्रतीक्षित मानिएको छ । तर, ‘परदेशी २’ चलचित्र हालसालै भने प्रदर्शनमा नआउने भएको छ ।

उसो भए कहिले प्रदर्शनमा आउँछ चलचित्र ? निर्देशक नारायण रायमाझीले  भने, ‘चलचित्रको कथा दशैंको परिवेशसँग जोडिएको छ । त्यसैले आउँदो दशैंमा नै प्रदर्शन गर्ने सोच बनाएका छौं । अब केही दिनमा प्रदर्शन मितिबारे आधिकारिक घोषणा गर्नेछौं ।’

निर्माता राजेश वंशल पनि चलचित्रमा दशैंको कथा जोडिएकाले त्यो भन्दा अगाडि प्रदर्शन हुने सम्भावना कम रहेको बताउँछन् । उनले भने, ‘दशैंको परिवेशसँग जोडिएको कथा भएकाले शुरुदेखि नै दशैंका लागि तयारी गरेका थियौं ।

यस वर्ष प्रदर्शन हुन पाएन । अब अर्को वर्ष दशैंमा नै होला ।’ चलचित्रको अधिकांश काम सकिएको निर्माण टिमले जानकारी दिएको छ ।चलचित्रको कथा रमेश बिजीले तयार पारेका हुन् ।

सुदीप कुँवर मुख्य सहायक निर्देशक रहेको ‘परदेशी–२’मा मानकृष्ण महर्जनको छायाँकन, अष्ट महर्जनको एक्सन, बीबी अनुरागीको संगीत तथा गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी, दीर्घ खड्काको सम्पादन छ ।

सम्बन्धित खवर