बलिउड अभिनेता आयुष्मान खुरानाले अभिनय गरेका पछिल्ला केही चलचित्रहरुले बक्स अफिसमा मात्र सुखद कमाइ गरेका छैनन्, उत्कृष्ट समीक्षा पनि पाउने गरेका छन् । फरक कथाका चलचित्रमा काम गर्न रुचाउने आयुष्मान अभिनित नयाँ चलचित्र ‘चण्डीगढ करे आशिकी’ शुक्रबार रिलिज भएको छ ।
यो चलचित्रलाई समीक्षकले उत्कृष्ट भनेका छन् । भारतका चर्चित समीक्षक तरण आदर्शले यो चलचित्रलाई ४ रेटिङ दिँदै ‘नयाँ कथा’ भनेका छन् । यो चलचित्रमा आयुष्मान खुराना र वाणी कपूरको मुख्य भूमिका छ ।
अभिषेक कपूरको निर्देशनमा तयार भएको यो चलचित्रलाई रोमान्टिक कथामा तयार पारिएको छ । चलचित्र करिब दुई घण्टा लामो छ ।समीक्षकहरुले आयुष्मानले यसपटक फेरि नयाँ कथा रोजेको भन्दै यो चलचित्रमा पनि उनको नयाँ सोच झल्कने बताएका छन् ।
यो कथालाई धेरै नायिकाहरुले काम गर्ने आँट नगर्ने भन्दै समीक्षक तरणले वाणी कपूरले भूमिकामा न्याय गरेको उल्लेख गरेका छन् । नेपालमा पनि यो चलचित्रलाई मल्टिप्लेक्सहरुले उच्च शो दिएका छन् ।
नेपाली बक्स अफिसमा ‘सूर्यवंशी’पछि कुनै पनि चलचित्रले सुखद कमाइ नगरिरहेको अवस्थामा यो चलचित्रले दर्शक तान्ने नेपाली वितरकहरुको अपेक्षा छ ।