किन हिन्दी भाषामा डब हुँदैछन् नेपाली फिल्म ? - Crazysaptahik.com

किन हिन्दी भाषामा डब हुँदैछन् नेपाली फिल्म ?

दक्षिण भारतीय (साउथ) चलचित्रलाई हिन्दीमा डब गरेर नेपाल भित्र्याउँदा ‘काल पल्किएको’ भन्दै केही दिनदेखि निर्माता अर्जुन कुमार चर्को स्वरमा बोलिरहेका छन् । साउथका चलचित्रका हिन्दी डबले नेपाली चलचित्रको बजार प्रभावित पार्ने उनको तर्क छ ।

नेपालमा साउथको हिन्दी डब चलचित्र रिलिज हुन लागेको पहिलो पटक नभएपनि यसपटक अर्जुनले चर्को रुपमा आवाज उठाउँदा यो विषयले ठूलै चर्चा पाएको हो । अर्जुनले हिन्दी डब चलचित्र नेपाल भित्र्याउने कुराको विरोध गरिरहँदा केही नेपाली चलचित्र भने धमाधम हिन्दी भाषामा डब गर्न थालिएको छ ।

हुन त, भारतका सिक्किम, दार्जिलिङ लगायतका स्थानमा नेपाली चलचित्र रिलिज नभएका होइनन् । तर, भारतका मुख्य शहरमा नेपाली चलचित्र प्रदर्शन गर्न सहज छैन । कोरोना महामारीका कारण लकडाउन भएपछि रिलिज हुन नपाएका केही चलचित्रमध्ये ‘प्रेमगीत ३’का निर्माताले यो चलचित्रलाई हिन्दी भाषामा डब गरेका छन् ।

भारतका चर्चित कलाकारहरुको आवाजमा रेकर्ड गरेर निर्माता तथा निर्देशक सन्तोष सेनले चलचित्रको भारतीय अधिकार बेचेको जानकारी दिइसकेका छन् । अब अन्य केही नेपाली चलचित्रलाई पनि हिन्दी भाषामा डब गर्ने तयारी थालिएको छ ।

डीआर मुभिजले केही समयअघि चलचित्र ‘प्रकाश’को डिजिटल र भारत रिलिजको अधिकार लियो । चलचित्रका निर्मातासँगको सम्झौतामा डीआर मुभिजले हिन्दी भाषामा डब गरेर भारतमा चलचित्र प्रदर्शन गर्ने उल्लेख छ ।

यो चलचित्रको डिजिटल र भारत राइट्सका लागि निर्माताले ६० लाख भन्दा बढी रकम पाएका छन् । डीआर मुभिजका प्रमुख श्याम धितालले अनलाइनखबरसँग भने, ‘हामीले नेपाली निर्मातासँग सम्झौता गरिसकेका छौं ।

तर, भारतमा डबिङ गरेर रिलिजका लागि भने हाम्रो कुराकानी मात्र अगाडि बढेको छ ।’ उनका अनुसार हिन्दी भाषामा डब गर्न डीआर मुभिजले ४० लाख भन्दा बढी रकम खर्च गर्नेछ । यसपछि मात्र भारतमा कुन कम्पनीलाई कसरी बेच्ने भन्ने विषयमा कुरा अगाडि बढ्नेछ ।

धितालले यो जोखिमपूर्ण काम भएपनि नेपाली चलचित्रलाई भारतीय बजारमा विस्तार गर्न सकेको खण्डमा नेपाली निर्माताको आम्दानीको स्रोत बढ्ने बताए । श्यामका अनुसार, भारतमा पनि नेपाली चलचित्रलाई माया गर्ने दर्शकको संख्या धेरै भएकाले बजार लिन सहज छ ।

डीआर मुभिजले नेपाली चलचित्र ‘कृष्ण लीला’को पनि हिन्दी भाषामा डब गरेर रिलिज गर्ने तयार अगाडि बढाएपनि फाइनल भने भैसकेको छैन । तर, हिन्दी भाषामा डब भएर नेपाली चलचित्र हलमा र ओटीटी प्लेटफर्ममा रिलिज हुन सकेको खण्डमा नेपाली चलचित्रको बजार फराकिलो हुने चलचित्रकर्मीहरु बताउँछन् ।

सम्बन्धित खवर