बलिउडका मिस्टर पर्फेक्सनिस्ट भनिने अभिनेता आमिर खान नयाँ चलचित्र ‘लाल सिंह चड्डा’ लिएर आउँदैछन् । बुहप्रतीक्षित बनेको यो चलचित्रले भारतका १०० स्थानमा छायाँकन गरेर नयाँ रेकर्ड समेत राखेको छ ।
यस्तै दुई सय दिनसम्म छायाँकन गरेर ‘लगान’पछि लामो समयसम्म छायाँकन गरिएको दोस्रो बलिउड चलचित्र बनेको छ । आमिर खान प्रोडक्सनको ब्यानरमा बनेको यो चलचित्रलाई अद्वेत चन्दनले निर्देशन गरेका छन् भने अभिनेत्री करिना कपूर पनि मुख्य भूमिकामा छिन् ।
यो चलचित्र ओस्कार विजेता हलिउड चलचित्र ‘फरेस्ट गम्प’को हिन्दी रिमेक हो । ‘लाल सिंह चड्डा’मा भारतको पाँच दशकभन्दा बढीको इतिहासलाई देखाउने प्रयास गरिएको जनाइएको छ ।
देशमा घटेका विभिन्न राजनीतिक, सैनिक र भौगोलिक घटनाको पृष्ठभूमिमा आधारित कथामा एक सैनिकको अदम्य साहस र जीवनप्रति उसको अनुरागलाई देखाइएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार अभिनेता तथा निर्माता आमिर खानले चलचित्र ‘लाल सिंह चड्डा’का लागि मानसिक रुपमा पनि निक्कै तयारी गर्नुपरेको थियो ।यस्तै यो चलचित्रका लागि उनले शारीरिक रुपमा पनि बदलाव ल्याएका थिए । ‘लाल सिंह चड्डा’ आगामी वर्षको वैशाखीमा रिलिज हुनेछ ।