बलिउड अभिनेता शाहिद कपूर अभिनित चलचित्र ‘जर्सी’को रिलिज मिति अनिश्चितकालका लागि सारिएपछि यसका मेकरहरु चिन्तित छन् । यो चलचित्र अंग्रेजी नयाँ वर्षको छेको पारेर डिसेम्बर ३१ बाट रिलिज गर्ने तय भएको थियो ।
चलचित्र सिनेमा हलमा रिलिज नहुने भएपछि लगानी नउठाउने हो कि भन्ने चिन्ताले मेकरलाई सताउन थालेको छ । त्यसैले यो चलचित्रलाई ओटीटी प्लेटफर्ममा रिलिज गर्ने सोच यसको निर्माणपक्षले बनाएको थियो ।
तर, अभिनेता शाहिद कपूरले भने चलचित्रलाई हलमै रिलिज गर्नुपर्ने अडान लिएका छन् । उनले चलचित्रलाई हलमै रिलिज गर्नुपर्ने र यसका लागि आफू पारिश्रमिक कम गर्न पनि तयार रहेको बताएका छन् ।
शाहिदले यो चलचित्रका लागि ३१ करोड पारिश्रमिक लिएका थिए । तर, अब उनी चलचित्रलाई हलमै रिलिज गर्ने शर्तमा पारिश्रमिक घटाउन तयार भएका हुन् ।
यदि ओटीटीमा रिलिज नगर्दा चलचित्रलाई ५ देखि १० करोड घाटा लाग्छ भने आफूले त्यो व्यहोर्न तयार भएको शाहिदले निर्मातासँग प्रस्ताव राखेका छन् ।
यो चलचित्र शाहिदका लागि पनि विशेष छ । यो चलचित्रमा उनी क्रिकेटरको भूमिकामा देखिएका छन् । चलचित्रको नयाँ प्रदर्शन मिति तोकिएको छैन । भारतमा कोरोनाको नयाँ भेरियण्ट फैलिँदै गएपछि विभिन्न राज्यमा सिनेमा हलहरु ५० प्रतिशत अकुपेन्सीमा मात्र चलाउनुपर्ने नियम बनाइएको छ ।
यस्तै राजधानी दिल्लीमा भने सिनेमा हल सञ्चालनमा पूर्ण निषेध गरिएको छ । जसकारण ‘जर्सी’को निर्माणपक्षले चलचित्रलाई अनिश्चितकालका लागि पोस्टपोन्ड गरेको हो ।