शाहरुख खानको प्रतीक्षित फिल्म ‘पठान’लाई लिएर बहिष्कारको हावा चल्न थालेको छ । पछिल्लोपटक रिलिज भएको फिल्मको गीत ‘बेसरम रङ’ले भारतमा विवाद सिर्जिएको छ ।
खासमा अभिनेत्री दीपिका पादुकोणलाई लिएर विवाद चर्किएको हो । गीत रिलिज भएसँगै नृत्य स्टेप र पहिरनलाई लिएर दीपिका विवादले घेरिएकी हुन् । दीपिकाले पहिरिएको मोनोकोनी पहिरनलाई लिएर राजनीतिज्ञदेखि सर्वसाधारणले सम्म टिप्पणी गरेका छन् ।
बिकिनीको रङलाई लिएर सत्तारुढ भारतीय जनता पार्टी नेतासम्म आलोचनामा उत्रिएका छन् ।दीपिकाको पहिरनको रङ हिन्दू धर्मको पूजाआजामा प्रयोग हुन्छ भने सत्तारुढ दल बीजेपीले पनि यो रङलाई प्रयोग गर्दै आएको छ ।
मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले दृश्य नहटाए फिल्म रिलिज रोक्ने चेतावनी दिए । दीपिकाको बिकिनी र पहिरनको रङले अपमान गरेको आरोप उनको छ । ‘पठानका केही दृश्य विषालु मानसिकतामा आधारित छन्,’ उनले भने, ‘बेसरम रङ गीतमा प्रयोग भएको पहिरनको रङको कपडा प्रयोग गर्नु गलत छ ।
यदि दृश्य परिवर्तन नगरिए मध्यप्रदेशमा रिलिज आवश्यक छैन ।’ मिश्रले भने, ‘फिल्ममा टुकडे ग्याङकी समर्थक दीपिका पादुकोणले आपत्तिजनक कपडा पहिरिइन् र यो दूषित मानसिकताको साथ फिल्म बनाइयो ।’
बीजेपी नेता समेत रहेका मिश्र गीतमा प्रयोग गरिएको वेशभूषा पहिलो नजरमै धेरै आपत्तिजनक रहेको बताउँछन् । भारतका कतिपय ठाउँमा गीतको विरोध गर्दै शाहरुख र दीपिकाको पुतला समेत जलाइएको जनाइएको छ ।
सिद्धार्थ आनन्द निर्देशित फिल्म ‘पठान’को गीत ‘बेसरम रङ’ १२ डिसेम्बरमा सार्वजनिक भएको थियो । तर फिल्म चाहिं २५ जनवरी २०२३ मा प्रदर्शन हुँदैछ ।