हलिउड निर्देशक क्रिस्टोफर नोलनले आफ्नो आगामी फिल्म ‘ओपेनहाइमर’को ट्रेलर सार्वजनिक गरेका छन् । ट्रेलरले फिल्मको मुख्य कथावस्तु परमाणु बम आविष्कारकको कथा भन्छ ।
परमाणु बम आविष्कार गर्ने जे रोबर्ट ओपेनहाइमरलाई फिल्मले पछ्याउँछ, जहाँ उनको भूमिकामा सिलियन मर्फीले अभिनय गरेका छन् । ट्रेलर सिलियन मर्फीबाट सुरु हुन्छ, जसमा जे रोबर्ट ओपेनहाइमरले मानव विवेकमाथि प्रश्न उठाएका थिए ।
ट्रेलरले बमलाई मरुभूमिमा परीक्षण गर्न गइरहेको टोलीलाई देखाउँछ । बम निर्माण गर्ने यो कार्य संसारबाट लुकाइन्छ । उक्त समयमा ओपेनहाइमरले यस्तो खाले कार्यलाई संसारले जान्नु र बुझ्नुपर्छ भनेर प्रश्न उठाएका थिए ।
भेराइटी म्यागजिनका अनुसार यो फिल्म काई बर्ड र लेट मार्टिन जे शेर्विनको उपन्यास ‘अमेरिकन प्रोमेथियस : द ट्राइम्फ एण्ड ट्रयाकी जेडी अफ जे रोबर्ट ओपेनहाइमर’मा आधारित छ ।
म्यानहटन परियोजना समेत भनिने उक्त कार्य सन् १९४२ देखि १९४६ सम्म भएको एक सरकारी अनुसन्धान परियोजना थियो, जुन आणविक हतियार निर्माणको वरिपरि केन्द्रित थियो । ओपेनहाइमर लस अलामोस प्रयोगशालाका निर्देशक पनि थिए, जहाँ बमलाई भौतिक रूपमा जडान गर्ने कार्य हुन्थ्यो ।
सिलियन मर्फीबाहेक कलाकारमा फ्लोरेन्स पग, एमिली ब्लन्ट, रोबर्ट डाउनी जुनियर, म्याट डेमन, ग्यारी ओल्डम्यान, रामी माले पनि छन् ।