अनिल कपुर र ज्याकी श्राफको जोडी बलिउडको सुपरहिट जोडीमध्ये एक हो । यी दुई स्टारले १२ फिल्ममा सँगै काम मात्र गरेका छैनन्, उनीहरु असल साथी पनि हुन् । फिल्म उद्योगमा यति लामो समय कामसँगै मित्रता कायम राख्नु दुर्लभ उदाहरण हो, किनभने यी दुईबीचमा असुरक्षा हाबी छैन ।
यी दुईको ब्रोमान्सलाई ‘राम लखन’, ‘कर्म’ र ‘त्रिमूर्ति’ जस्ता फिल्ममा निकै रुचाइएको थियो । अब यो जोडी फेरि पर्दामा देखिनेछ । सुभाष घईको आगामी फिल्ममा अनिल र ज्याकीलाई एकसाथ देख्न पाइनेछ ।
यी दुईले निर्देशक घईसँग धेरै फिल्ममा काम गरेका छन् । ‘राम लखन’ र ‘कर्मा’ पनि घईले निर्देशन गरेका थिए । पिंकभिलाका अनुसार निर्देशक घई अब ‘चोर पुलिस’ नामक फिल्म बनाउँदैछन्, जसमा अनिल र ज्याकी देखिनेछन् ।
विवरणअनुसार यी दुवै कलाकारलाई फिल्मको कथा मन परेको छ र फिल्मको प्रतीक्षामा छन् । स्रोतका अनुसार ‘चोर पुलिस’ कमेडी फिल्म हो, जसमा अनिल चोरको भूमिकामा देखिनेछन् ।
अनिल चोरहरूको परिवारका हुन्छन् भने ज्याकी श्राफ प्रहरीको परिवारका हुन्छन् र उनी प्रहरी अधिकारी हुन्छन् । फिल्मको कथा अनिष बज्मी र पट्टु पारेखले लेखेका हुन् । यो फिल्मको निर्माण अहिले प्रारम्भिक चरणमा छ र आगामी वर्षसम्ममा सबै कुरा मिल्ने बताइएको छ ।
फिल्मको कथा फाइनल भइसकेको छ । अहिले कलाकार र निर्देशकको नाम मात्रै टुंग्याउन बाँकी छ । यद्यपि अनिल कपुर र ज्याकी श्राफको नाम पुष्टि भइरहेको छ । २१ वर्षपछि यी दुई कलाकारलाई एउटै फिल्ममा देख्न लागिएको हो ।