विश्वभर फैलिएको कोरोना महामारीका कारण नेपालमा पनि एक लाख भन्दा बढी संक्रमित भैसकेका छन् । मृत्यु हुनेको संख्या पनि दैनिक बढिरहेको छ । सरकारले कोरोनाको उपचार अब जनता आफैले गर्नुपर्ने भनेपछि यसले सामाजिक संजालमा चर्को आलोचना भोगिरहेको छ।
चलचित्रकर्मीहरुले पनि सरकारको यो कदमको विरोध गरिरहेका छन् । निर्देशक तथा कलाकार निश्चल बस्नेतले सरकारले साधारण जनतालाई मान्छे गन्दैन भन्ने पुष्टी भएको उल्लेख गरेका छन् । उनी लेख्छन–‘आफ्नो उपचार गर्न राज्यकोषबाट जति खर्च गरेपनि हुने ।
जनताको उपचार आफै गर भन्न सक्ने गैरजिम्मेवार सरकारले साधारण जनतालाई मान्छे गन्दैन भनेर फेरि छर्लङ्ग भयो । महामारीमा पनि जनताको सेवक हुन नसक्ने सरकारले आफ्नो पतनको बाटो आफै रोजिसकेछ ।
राम्रो रोज्ने मौका त हामीले गुमायौं, अब ढिला नगरी कुहिएकालाई चै फ्याल्नुपर्ने देखियो ।’ निश्चल जस्तै अन्य केही चलचित्रकर्मीहरुले महामारीको बेलामा पनि सरकारले जनतालाई आफू भएको आभाष दिलाउन नसकेको भन्दै आलोचना गरेका छन् ।