बलिउड अभिनेता सैफअली खान र प्रभासको फिल्म ‘आदिपुरुष’ को सेटमा आगलागी भएको छ । फिल्म सेटमा मंगलबार साँझ आगलागी भएको हो । आगलागीको समय सेटमा ५०, ६० व्यक्तिहरु मात्र रहेका थिए ।
फिल्मको सुटिङ पनि मंगलबारबाटै सुरु भएको थियो । मंगलबार प्रभास र सैफअली खान भने सुटिङमा सहभागी थिएनन् । सुटिङ सेटको आगलागीको भिडियो सामाजिक संजालमा भाइरल भएका छन् ।
भिडियोमा दमकल आगो निभाउने प्रयासमा रहेको देख्न सकिन्छ । आगलागीको कारण कोही पनि घाइते नभएको बताइएको छ । समाचारका अनुसार सुटिङ सेटको आगो निभाउन मुम्बईबाट आठ दमकल, पानी ट्याङकर लगायत बोलाइएको थियो ।
आगो लाग्नुको कारण विद्युत सट भनिए पनि आधिकारिक कारण भने सार्वजनिक हुन बाँकी रहेको छ । फिल्मको कुरा गर्ने हो भने ‘आदिपुरुष’ मा रामको भूमिका प्रभासले निर्वाह गर्दैछन् भने रावणको भूमिकामा सैफअली खान देखिँदैछन् ।
फिल्म हिन्दी र तेलुगुमा पनि छायाँकन गरिनेछ । फिल्म तमिल, मलयालम, कन्नड लगायत कयौं अन्य भाषामा समेत रिलिज गरिनेछ ।
फिल्मको रिलिज २०२२ मा हुनेछ ।