कोरोनाको संक्रमण विस्तारै कम हुँदै गएपछि गतबर्ष केही मेकरले धमाधम यो बर्षका लागि प्रदर्शन मिति तय गरे । दर्जन बढी चलचित्रको छायांकन सकियो । केही चलचित्रको छायांकन जारी छ ।
अब, त कोरोनाको त्रास कम भयो भन्दै धेरै निर्माताले यो बर्षका राम्रा डेट बुक गरेका छन् । तर, चैत्रको तेश्रो साताबाट कोरोना संक्रमितको संख्या बढेसँगै नेपाली चलचित्र क्षेत्रमा देखिएको अन्यौलता झनै बढेको छ ।
चलचित्रको प्रदर्शन मिति तय गरेर बसेका धेरै निर्माता तोकिएको मितिमा चलचित्र रिलिज हुने हो या होइन भन्न सक्ने अवस्थामा छैनन् । केही निर्माताले चलचित्रको प्रदर्शन मिति तय गरे भने धेरै निर्माताले प्रदर्शन गर्ने दिन पनि तोक्न सकेनन् ।
दोश्रो लहरको कोरोना सुरु भएको केही साता मात्र भएकाले यसले कस्तो असर गर्छ र सरकारले कस्तो नीति लिन्छ भन्ने एकिन भैसकेको छैन । तर, सरकारले जेठ महिनामा दैनिक ११ हजार संक्रमित हुन सक्ने प्रक्षेपण भने गरिसकेको छ । यसले, नेपाली चलचित्र क्षेत्र यो बर्ष पनि अन्यौलतामै वित्ने त होइन भन्ने देखिएको छ ।
कुन–कुन फिल्मले तोके प्रदर्शन मिति ?
यो बर्षको साउन अगाडि चलचित्र रिलिज हुने छनक अहिलेसम्म देखिएको छैन । साउन १ गते चलचित्र ‘डिसेम्बर फल्स’ को प्रदर्शन मिति तय गरिएको छ ।
भदौको ११ गते ‘चिसो मान्छे’, भदौको १८ गते ‘ए मेरो हजुर ४’, असोजको १ गते ‘चुरीफुरी’, असोजको १५ गते ‘कबड्डी ४’ रिलिज गर्ने तयारी निर्माताको छ ।
अन्यौलामा थुप्रै फिल्म
वि.सं २०७६ सालमा नै निर्माण भएर प्रदर्शन हुन नसकेका धेरै चलचित्रका निर्माता अझै अन्यौलमा छन् । चलचित्र ‘म यस्तो गीत गाउँछु २, प्रेमगीत ३, चपली हाइट ३, निरफूल, हिजो आजका कुरा, संझना विर्सना’ लगायतका चलचित्रका निर्माताले नयाँ प्रदर्शन मिति तय गर्न सकेका छैनन् ।
यस्तै, गतबर्ष रिलिज हुने भनिएका ‘लप्पन छप्पन २, कृष्णलीला, मनसँग मन’का निर्माता भने नयाँ मिति तय गर्न सक्ने अवस्थामा अझै देखिएका छैनन् ।
यी बाहेक, निर्माण भैरहेका थुप्रै चलचित्रका निर्माता पनि कुन मितिमा चलचित्र रिलिज गर्ने अन्यौलमा नै छन् । ‘आई एम ट्वान्टी वान, सम्हालिन्छ कहिले मन, बिहे पास, हिड्दा हिड्दै, तिम्रो मेरो साथ, गणपति, कौसिक, राधा’ लगायतका चलचित्रको छायांकन सकिएको छ तर प्रदर्शन मिति तय गर्न निर्माताले सकेका छैनन् ।
केही चलचित्र निर्माण गर्ने घोषणाका साथ निर्माता अगाडि बढेका छन् । गतबर्ष लकडाउनको विचमा नै नयाँ बर्षलाई स्वागत गरेको चलचित्र क्षेत्रले यो बर्ष लकडाउनको मार त खेपेको छैन ।
तर, चलचित्र प्रदर्शनको अन्यौलता भने उस्तै छ । ९ महिना लामो लकडाउन खेपेका प्रदर्शकहरु पनि चलचित्र क्षेत्र कहिलेबाट पुरानै क्षेत्रमा फर्किन्छ भन्न नसक्ने अवस्थामा छन् ।
९ महिनापछि हल खोल्न पाउँदा उनीहरुमा मुस्कान त देखिएको थियो, तर उक्त मुस्कान लामो समयसम्म रहन सकेन । यसैले, यो बर्ष नेपाली चलचित्र क्षेत्रका लागि कस्तो हुने हो भनेर अहिले नै अनुमान लगाउन सकिने अवस्था छैन ।