काठमाडौं । टेलिभिजन रियालिटी शो नेपाल आइडल’का निर्णायकहरु परिवर्तन भएका छन् । फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सीजनका लागि निर्णायकहरु परिवर्तन गरेको हो ।
नयाँ निर्णायकमा गायक एवं वरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र सुवानी मोक्तान रहेका छन् । निर्णायकमा चुनिएपछि गायक एवंम वरिष्ठ संगीतकार शम्भूजित बास्कोटाले नेपाल आइडलमा आउँछु भन्ने आशा गरेको र पूरा भएको जानकारी गराए । उनले नेपाल आइडल परिवारको सदस्य हुन पाएकोमा खुशी प्रकट गरे । गायक पोखरेल र गायिका मोक्तानले पनि नेपाल आइडलसँग सहकार्य गर्न पाउँदा आफू खुशी भएको बताएका छन् ।
गायिका मोक्तानले भनिन्, ‘नेपाल आइडलमा आउँछु भन्ने थियो, जुर्दो रहेछ, हिजो पनि नेपाल आइडल राम्रोसँग सञ्चालन भएको थियो, हिजोका जजहरुले राम्रो काम गर्नुभएको छ, व्यवस्थापनले पनि राम्रो किसिमको माहोल क्रिएट गरिदिएको छ, नेपाल आइडल परिवारको सदस्य भएर काम गर्न पाएँदा खुशी छु ।’
ढिलै भएपनि नेपाल आइडलमा जोडिन पाउँदा धेरै खुशी लागेको कलाकारहरुले बताएका छन् । नेपाल आइडल सीजन–४ मा तीन जना निर्णायक सहित टिकटक स्टार तथा मोडेल रेस्मा घिमिरे पनि जोडिएकी छन् ।