वडा नं. ५ ले जित्यो प्रथम वडा अध्यक्ष कपको उपाधि - Crazysaptahik.com

वडा नं. ५ ले जित्यो प्रथम वडा अध्यक्ष कपको उपाधि

सनम रोक्का
कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका स्थित “रमाइलो युवा परिवार” ले आयोजना गरेको ६ नं. वडा अध्यक्ष कप (अन्तर वडा स्तरीय नक आउट फुटबल प्रतियोगिता) को उपाधि वडा नं. ५ ले हात पारेको छ ।

आज मंगलबार सम्पन्न भएको फाइनल खेलमा आयोजक टिम रमाइलो युवा परिवारलाई ३-० गोल अन्तरले पराजित गर्दै ५ नं. वडाले उपाधी हात पारेको हो । जनसेवा मावि रमाइलोको खेल मैदानमा सञ्चालन भएको खेलमा ५ नं. वडालाई जित दिलाउन पहिलो हाफमा डेनि राई र मनिष राईले समान १-१ गोल गरेका थिए । दोश्रो हाफमा पुनः डेनि राईले नै आफ्नो टिमका लागि १ गोल गर्दै जित सुनिश्चित बनाएका थिए । पहिलो हाफ देखिनै निकै दबाबमा रहेको आयोजक टिम खेलको अन्त्यसम्म पनि खेलमा पुनारागमन हुन सकेन । पराजित टिमले केहि राम्रा अवसरहरू पाएपनि गोल गर्न भने सकेन।

विजयी हुने टिमले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र र उपविजेता टिमले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । सो पुरस्कार औपचारिक कार्यक्रमका प्रमुख अतिथि पालिका अध्यक्ष ताराबहादुर काफ्ले, वडाअध्यक्षहरू खड्ग बस्नेत, मोहनप्रसाद अधिकारी, राष्ट्रिय युवा संघ मोरङ अध्यक्ष नवीन पौडेल लगायत अतिथिहरूले प्रदान गरेका थिए ।

खेलबाट म्यान अफ दि म्याच विजयी टिमका निखिल धिमाल चुनिए भने बेस्ट गोलकिपरको ट्रफी ५ नं. वडाका रोहित धिमालले प्राप्त गरे । प्रतियोगिता भरिकै सर्वाधिक गोलकर्ताको उपाधी पनि ५ नं. वडाकै डेनि राईले प्राप्त गर्दा अनुशासीत खेलाडीको ट्रफी आयोजक टिमका दुर्गा अधिकारीले हात पारे । म्यान अफ दि सिरिजको उपाधी पनि आयोजक टिमकै तर्फबाट गिरिजा लिम्बूले प्राप्त गरे ।

प्रतियोगिताको अवधी भरी दिइएको विभिन्न विधाका ट्रफीको प्रायोजन बाबू मनि ट्रान्सर्फरका सञ्चालक खेमराज श्रेष्ठ, टिएनएस फ्यामिलीको तर्फबाट टीका अधिकारी, रमाइलो गृल उद्योगका सञ्चालक दिपक राई, समाजसेवी केदार लुइँटेल, सुनिल पराजुली, रमाइलो व्यापार संघ अध्यक्ष डिल्ली प्रसाद फुयल, डिजे अटोको तर्फबाट दिपक फुयल, व्यवसायी महेश आचार्य र एकता ब्रदर्सका सञ्चालकहरूको मार्फतबाट प्राप्त भएको खेल संयोजक अशोक फुयलले बताए ।

आज मंगलबारनै फाइनल खेल सुरू हुनु अघि आयोजक र वडा नं. ७ का बिच भएको मैत्रीपुर्ण खेलमा ७ नं. वडाले २-० गोल अन्तर सहित जित हासिल गरेको थियो । विजेता टिमले ३ हजार र उपविजेताले २ हजार आयोजकको तर्फबाट प्राप्त गरे । प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा पालिका अध्यक्ष ताराबहादुर काफ्ले, ६ र ७ का वडा अध्यक्षहरू खडगबहादुर बस्नेत, मोहनप्रसाद अधिकारी, नेकपा एमाले कानेपोखरीका अध्यक्ष दानबहादुर बस्नेत, राष्ट्रिय युवा संघ मोरङ जिल्ला अध्यक्ष नवीन पौडेल, नेपाली काङ्ग्रेस कानेपोखरी सभापति योगेन्द्र दाहाल, सचिव विबेक लिम्बु, माओवादी केन्द्रका कानेपोखरी संयोजक मनोज राजवंशी लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको अन्त्यसँगै खेल संयोजक फुयलले कानेपोखरी ७ को मितेरी युवा क्लबले खेल अवधी भरी विभिन्न खेल सामाग्रीहरू उपलब्ध गराएर र जनसेवा मावी रमाइलोले खेलमैदान उपलब्ध गराइदिएर प्रतियोगितालाई अझ साथ र सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरे ।

 

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.