सनम रोक्का
कानेपोखरी । मोरङका कानेपोखरी गाउँपालिका रमाइलोमा रहेको जनसेवा माविले आइचर कम्पनीको स्कुल बस खरिद गरेको छ ।
नेपाल सरकार मार्फत सो बस विद्यालयको पूर्ण लगानी मंगलबार ल्याइएको प्रधानाध्यापक दामोदर सिग्देलले बताए । मंगलबार विद्यालयको प्राङ्गणमा ल्याइएको बसको चाबी ग्रहण गर्दै र रिवन काटेर पालिका अध्यक्ष ताराबहादुर काफ्लेले बसको विधिवत शुभमहुर्त गरेका थिए ।
दर्वेसा, रङगेली लगायतका टाढा क्षेत्रबाट विद्यार्थीहरू आउँने भएकाले त्यस्ता विद्यार्थीलाई प्राथमिकता दिइने प्रधानाध्यापक सिग्देलले सुनाए । “रहरभन्दा आवश्यकता ठूलो हो, त्यही भएर हामी आवश्यकता हेर्छौ । आवश्यकता र बाध्यता अनुसार स्कुल बसको परिचालन गर्नेछौं” ।
लामो प्रशासनिक कार्यहरू झेल्दै भारतबाट सो स्कुल बस विद्यालयसम्म ल्याइएको प्र.अ सिग्देलले जानकारी दिए । उनले भने, “अब हामी चाडैं विद्यार्थीको संख्यालाई परिपूर्ति गर्न सक्ने केही बसहरू थप गर्नेछौं” ।
प्रदेश १ भित्रकै एक नमुना विद्यालय जनसेवा माविमा कक्षा १ देखि १२ सम्म करिब १३ सय विद्यार्थी अध्ययनरत रहेका छ्न । कक्षा ९ देखि १२ सम्म विगत केही वर्षदेखि बाली विज्ञान संकायका कक्षाहरू सञ्चालन भइरहेको छन ।