तिहारपछि छायांकन सुरु हुन लागेको चलचित्र ‘सत्यम्’को वर्कशप धम्पुसमा चलिरहेको छ । चलचित्रको वर्कशपका लागि मुख्य कलाकारहरु नायक राजेश हमाल, पल शाह, नायिका मलिका महत्त लगायतको टोली धम्पुसमा छ । यो चलचित्रको शिर्ष भूमिकामा नायक राजेश हमाल देखिनेछन् ।
चलचित्रमा खलपात्रको भूमिकामा भने नायक अनुप विक्रम शाही देखिदैछन् । चलचित्रमा नायक पल शाहको अपोजिटमा नायिका मलिका महत्त देखिदैछिन् । यसैविच, यसको निर्माणपक्षले चलचित्रका लागि अर्की एक नायिकाको पनि खोजी गरिरहेको छ ।
चलचित्रमा नायक राजेश हमालको अपोजिटको रुपमा नायिका निरुता सिंहलाई अफर गरिएको छ । श्रोतका अनुसार, निरुतालाई चलचित्रको लागि अफर गरिएपनि उनले काम गर्ने वा नगर्ने पक्का भैसकेको छैन । नायिका निरुता सिंह एक डान्स रियालिटी शोको निर्णायक बन्नका लागि एक साता अगाडि नेपाल आएकी थिइन् ।
यो डान्स रियालिटी शोका लागि निरुताले करिब ३ महिनाको समय दिनुपर्नेछ । यसैले, उनले चलचित्रमा काम गर्ने वा नगर्ने बिषयमा फाइनल गर्न सकेकी छैनन् । शंकर कार्कीको निर्देशनमा तयार हुन लागेको यो चलचित्रलाई रेशम सापकोटाले निर्माण गर्दैछन् ।
नायिका निरुता सिंहले चलचित्र ‘दाल भात तरकारी’मा मुख्य भूमिकामा काम गरेपछि नयाँ नेपाली चलचित्रमा काम गरेकी छैनन् । निरुताले नेपाल आएपछि कथावस्तु राम्रो भएको खण्डमा आमाको भूमिकामा पनि काम गर्ने बताएकी थिइन् ।