प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगिता सम्पन्न : आयोजकलाई प्रथम पुरस्कार - Crazysaptahik.com

प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगिता सम्पन्न : आयोजकलाई प्रथम पुरस्कार

सनम रोक्का
कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकामा सम्पन्न भएको प्रथम अध्यक्ष कप १ नं. प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगितामा आयोजक जिल्ला मोरङले प्रथम पुरस्कार हात पारेको छ । ८ स्वर्ण, ८ रजत र ९ कास्य पदक जित्दैँ आयोजकले प्रथम स्थान हासिल गरेको आयोजक कमिटीले बताएको छ ।
दोश्रो पुरस्कार सुनसरीले ८ स्वर्ण, २ रजत र ३ कास्यका साथ हासिल गर्दा तेश्रो उपाधी ७ स्वर्ण, ९ रजत र ६ कास्य पदक सहित झापाले जित्यो ।

विजेतालाई कानेपोखरी गाउँ अध्यक्ष ताराबहादुर काफ्ले,आइटिएफ प्रदेश अध्यक्ष प्रविन कुमार कार्की, आइटिएफ तेक्वान्डो केन्द्रिय अध्यक्ष अन्जन धमला लगायतले प्रमाणपत्र, मेडल र ट्रफीले सम्मान गरेका थिए । प्रथम पुरस्कार र दोश्रो पुरस्कारको प्रायोजन क्रमशः कानेपोखरी ६ मा रहेको माउन्ट हर्मोन चिल्ड्रेन ऐकेडेमी र वडा नं. ६ मै अवस्थित उज्ज्वल भविष्य बाल क्लबले गरेका हुन भने तेश्रो पुरस्कारको व्यवस्थापन आयोजक कानेपोखरी आइटिएफले गरेको हो ।
यस प्रतियोगिताको उत्कृष्ट खेलाडी महिला तर्फबाट आयोजक मोरङ्की इन्दिरा थापा घोषित हुँदा पुरुषतर्फबाट सुनसरीका निकेश कटुवाल छानिए । अनुशासीत टिमको उपाधी पाँचथर जिल्लाले हात पार्‍यो । यी उपाधीहरूको प्रायोजन कानेपोखरी ६ रमाइलो फ्लेक्सका प्रोपाइटर सागर धिमालले गरेका हुन ।
शुक्रबार र शनिबार सञ्चालन भएको दुई दिवसीय प्रथम अध्यक्ष कप १ नं. प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगितामा प्रदेश नं. १ का ओखलढुंगा र सोलुखुम्बु बाहेक १२ जिल्लाका २५० जना खेलाडीहरूले सहभागीता जनाएका थिए । जसमा ९६ जना महिला खेलाडी छ्न ।

प्रतियोगीतामा पुरुषतर्फ २० केजी देखि ८० केजी माथी तौलसम्म र महिलातर्फ २० केजी देखि ७० केजी माथी तौलसम्मका खेलाडी बीच प्रतिस्पर्धा भएको थियो ।
पुरस्कार वितरणसँगै समापन गरिएको प्रतियोगितालाई सफल बनाउन अहोरात्र खट्ने व्यक्तिहरू, सहयोगदाता, प्रायोजक, खेल पदाधिकारी, अतिथी लगायतलाई कदर पत्रका साथ सम्मान प्रकट समेत गरिएको थियो ।

कानेपोखरी आइटिएफका अध्यक्ष युवराज भुजेलले अध्यक्षता गरेको कार्यक्रमको प्रमुख अतिथ्यता पालिका अध्यक्ष ताराबहादुर काफ्लेले गरेका थिए । पालिका उपाध्यक्ष राजमति इङ्नाम, आइटिएफ तेक्वाण्डोका केन्द्रिय अध्यक्ष अन्जन धमला, आइटिएफ प्रदेश अध्यक्ष प्रविनकुमार कार्की, आइटिएफ केन्द्रिय सदस्य रमेश चौधरी, मदन भण्डारी ऐकेडेमी मोरङ अध्यक्ष भुपाल श्रेष्ठ, राष्ट्रिय युवा संघ मोरङ जिल्ला अध्यक्ष नवीन पौडेल लगायतको उपस्थिति रहेको थियो ।
समापन कार्यक्रममा पालिका अध्यक्ष ताराबहादुर काफ्लेले शुभकामना व्यक्त गर्दै तेक्वाण्डो खेलले मानसिक, शारीरिक, बौद्धिक एवं सामाजिक रुपमा पनि सबल बनाउने बताए । उनले भने ‘खेलकुदको माध्यमबाट भूगोल, समाज, विभिन्न जातजाति, वर्ग, लिङ्ग, वर्णलाई एकैठाउँमा बिना विभेद जोड्न सकिन्छ ।’ त्यसैले खेल मनोरञ्जन मात्र नभइ सामाजिकीकरणको संवाहक भएको सुनाए ।
सगसँगै उनले आगामी दिनमा पनि कानेपोखरी तेक्वाण्डोले यस्ताखाले प्रतियोगिताको आयोजना गर्दै अघि बढ्छ भन्ने कुरामा विश्वस्त रहेको सुनाए ।
शुभकामना मन्तव्य राख्दैँ मदन भण्डारी ऐकेडेमी मोरङका अध्यक्ष भुपाल श्रेष्ठले यस तेक्वान्डो प्रतियोगिताले कानेपोखरीलाई अझ बढी चिनाउँन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । कानेपोखरी आइटिएफ तेक्वान्डोले राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन गर्न सकोस्, त्यसका लागि आवश्यक पूर्वाधारलाई मजबुत बनाउन समाजका सम्पूर्ण व्यक्तिहरू एकढिक्का भएर लाग्नुपर्ने बताए ।
प्रतियोगितालाई कानेपोखरी गाउँपालिकाले आर्थिक सहयोग गरेको छ भने प्रदेश नं. १ आइटीएफ तेक्वाण्डो संघको तत्वधानमा कानेपोखरी आइटीएफ तेक्वाण्डो डोजाङ्गले आयोजना गरेको हो। खेल कानेपोखरी ६ स्थित जनसेवा माविको खेलमैदानमा सम्पन्न भएको हो ।
प्रतियोगीताले खेलाडीमा खेलप्रतिको मोह जगाउँदै दुर्व्यसन र कुलतबाट टाढा रही स्वास्थ्य जीवन जिउँन टेवा पुर्‍याउने उद्धेश्यका साथ सञ्चालन गरिएको आयोजक संस्थाका अध्यक्ष युवराज भुजेलले बताए। उनले भने, ‘ धेरै व्यक्तिहरूको साथ र सहयोगले गर्दा सफलतापुर्वक प्रतियोगितालाई अन्त्य गरेका छौँ र केही हदसम्म सफलता समेत मिलेको अनुभव भएको छ, आगामी दिनमा अझ सिक्दैं, अनुभव गर्दै अघि बढ्नेछौँ ‘ । आइटिएफ तेक्वाण्डो डोजाङ्ग कानेपोखरीको स्थापना गत बैशाखमा मात्र भएको हो ।

 

 

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.