१-० गोल अन्तरले हराउँदै जहदा भेट्रानस गोल्डकपमा बिर्तामोड सेमिफाइनमा प्रवेश - Crazysaptahik.com

१-० गोल अन्तरले हराउँदै जहदा भेट्रानस गोल्डकपमा बिर्तामोड सेमिफाइनमा प्रवेश

क्रेजी संवाददाता
कानेपोखरी । मोरङ कानेपोखरी ५ जहदामा सञ्चालन भइरहेको “जहदा भेट्रानस गोल्डकप-२०७८” को तेश्रो दिनको खेलबाट बिर्तामोड भेट्रानस एफसी सेमिफाइनलमा प्रवेश गरेको छ ।
दमक लखनपुर भेट्रानस क्लबलाई १-० गोल अन्तरले हराउँदै बिर्तामोड भेट्रानस एफसीले सेमिफाइनलको यात्रा सुनिश्चित गरेको हो ।

खेलको सुरूवातमा दुवै टिम निकै आक्रमक देखिएपनि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोश्रो हाफ सुरूसँगै ६ मिनेटमा तोयाराम भुजेलले आफ्नो टिम बिर्तामोडका लागि आकर्षक १ गोल गर्दै अग्रता दिलाएका थिए । दमक लखनपुरका खेलाडीहरूले निकै राम्रा अवसरहरू पाएपनि जाली भने चुमाउन सकेनन् ।
खेलको अन्त्यमा दमकले खेललाई बराबरीमा ल्याउन निकै संघर्ष गर्‍यो । त्यही क्रममा दमकका खेलाडीलाई गोल गर्नबाट रोक्दा बिर्तामोडका नवीन कन्दङ्वाले रातो कार्ड पाए । १० खेलाडीमा सिमित भएको बिर्तामोडलाई १-० को अग्रता जोगाउन निकै सकस पर्‍यो । बिर्तामोडका लागि तोयारामले गरेको १ गोलनै जितको निर्णायक बन्यो।

खेलको म्यान अफ दि म्याच बिर्तामोडका तोयाराम भुजेल घोषित भए । उनले नगद १५ सय रुपैयाँ सहित आकर्षक ट्रफी हात पारे । भोलि पहिलो चरणको अन्तिम खेल अभिषेक चर्च राझर नवलपुर/नपरपरासी र हाम्रो इटहरी भेट्रानसका बिच खेल हुने खेल संयोजक डेनिम राईले बताए ।

नव प्रगतिशील समाज सेवा क्लबको संरक्षण र जहदा भेट्रानसको आयोजनामा भइरहेको यस भेट्रानस गोल्डकपमा ८ भेट्रानस टिमको सहभागिता रहेको छ । जसअन्तर्गत भेट्रानस टिमहरू धरान, इटहरी, विराटनगर, नपलपरासी, दमक, बिर्तामोड, एभरेष्ट मोरङ, जहदा भेट्रानस रहेका छ्न । प्रतियोगिताको विजेता र उपविजेताले क्रमश १ लाख ११ हजार १ सय ११ रुपैयाँ र ६५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र हात पार्नेछ्न । वेष्ट गोलरक्षक, हाई स्कोरर, अनुशासित खेलाडी, म्यान अफ दि टुनामेन्ट जस्ता विद्या हात पार्ने खेलाडीलाई खेल समापनको दिन नगद २५ सय सहित आकर्षक ट्रफीले पुरस्कृत गरिने भेट्रानस खेलाडी तथा ५ नम्बर वडाध्यक्ष चरण गुरुङले बताए ।

कानेपोखरी–५ जहदामा अवस्थित कानेपोखरी गाउँपालिकाको रंगशालामा कार्तिक २८ गते उद्घाटनसँगै सुरु भएको खेल मंसिर ५ गतेसम्म चल्नेछ । खेललाई नमस्ते ट्रेडर्सले मुख्य प्रायोजन गरेको छ भने लुम्बिनी रेष्टुरेन्ट एण्ड बारले सह–प्रायोजकको रूपमा सहयोग गरेको छ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.