५० लाखमा नेपाल भित्रियो अहान र ताराको ‘तडप’ - Crazysaptahik.com

५० लाखमा नेपाल भित्रियो अहान र ताराको ‘तडप’

आउँदो साताबाट विश्व बजारमा रिलिज हुन लागेको बलिउड चलचित्र ‘तडप’को नेपाल अधिकार ५० लाख रुपैयाँमा खरिद गरिएको छ । निर्देशक तथा निर्माता प्रचण्डमान श्रेष्ठको वितरण कम्पनी टी फक्सले ‘तडप’लाई नेपाल भित्र्याएको हो ।

‘सूर्यवंशी’ले बक्स अफिसमा धमाका मच्चाएपछि धमाधम बलिउड चलचित्रमाथि नेपाली वितरकहरुले महँगो रकम खर्च गरिरहेका छन् । यो चलचित्रको ट्रेलर र गीतले दर्शकको मन जितेका कारण पनि नेपालमा यसले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

यो चलचित्रबाट नायक सुनिल सेट्टीका छोरा अहान सेट्टी बलिउडमा प्रवेश गर्दैछन् । चलचित्रमा उनको साथमा नायिका तारा सुतरियाको अभिनय हेर्न सकिन्छ । विदेशबाट फर्किएकी एक युवतीलाई उत्तराखण्डमा बसोबास गर्ने एक युवकले भेटेपछि शुरु हुने कथामा यो चलचित्र अगाडि बढ्छ ।

साजिद नाडियडवालाको निर्माणमा तयार भएको यो चलचित्रलाई मिलन लुथरियाले निर्देशन गरेका हुन् । ‘तडप’ डिसेम्बर ३ अर्थात् आउँदो शुक्रबारबाट रिलिज हुँदैछ ।

सम्बन्धित खवर