‘जाली रुमाल’ हिरो सुधांशु जोशी ‘एक्स ९’मा अनुबन्धित - Crazysaptahik.com

‘जाली रुमाल’ हिरो सुधांशु जोशी ‘एक्स ९’मा अनुबन्धित

नायक सुधांशु जोशी लामो समयपछि नेपाली चलचित्रको पर्दामा फर्किने भएका छन् । सुधांशुले मुकुन्द भट्टले निर्देशन गर्न लागेको चलचित्र ‘एक्स ९’मा काम गर्ने पक्का भएको हो । सुधांशु लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् ।

चलचित्र ‘नेपाल’को निर्माता समेत रहेका सुधांशु यो चलचित्र असफल भएपछि अमेरिका हानिएका थिए । अमेरिका पुगेपछि उनको चर्चा सेलायो । तर, उनको वैवाहिक जीवनका कारण बेलाबखत उनी मिडियामा छाए । सुधांशुले एक्सन केन्द्रित ‘एक्स ९’मा काम गर्ने पक्का भएको मुकुन्दले बताए ।

चलचित्रमा अनमोल केसी, सौगात मल्ल, पुष्प खड्का, अनुपविक्रम शाही, राज कटुवाल लगायतका कलाकारको अभिनय रहने पक्का भइसकेको छ । चलचित्रमा बलिउड नायक सुनिल सेट्टीले पनि अभिनय गर्ने बताइएको छ ।

चलचित्रको छायांकन फ्रेब्रुअरी महिनाबाट शुरु हुनेछ । चलचित्रलाई नेपालसँगै युरोपका विभिन्न देश र अमेरिकामा पनि खिचिने निर्माणपक्षको भनाइ छ । यो चलचित्रका कार्यकारी निर्माता निर्मलकुमार मिश्र हुन् ।

चलचित्रमा वीरेन्द्र कुँवर, मुकुन्द भट्ट, चन्द्र पन्त, बिदुर घण्टे र प्रदीप थापाको लगानी रहनेछ । नायक जोशीले जाली रुमाल, विषालु, रणभूमि, हत्या लगायतका दर्जन चलचित्रमा काम गरेका छन् ।

सम्बन्धित खवर