गञ्जागोलमा ‘सत्यम्’ - Crazysaptahik.com

गञ्जागोलमा ‘सत्यम्’

नवनिर्माता रेशम सापकोटा शुरुवाती दिनमा चलचित्र निर्माणका लागि जति हौसिएका थिए, अहिले गञ्जागोल मिलाउन दौडधुप गरिरहेका छन् ।उनले निर्माण गर्ने भनिएको चलचित्र ‘सत्यम्’को छायांकन अझै शुरु हुन सकेको छैन । यो चलचित्र कहिले कलाकार त, कहिले ‘स्क्रिप्ट’को घनचक्करमा अल्झिरहेको छ ।

अभिनेता राजेश हमालले झण्डै तीन दर्जन चलचित्रको स्क्रिप्ट अस्वीकार गरेर ‘सत्यम्’मा काम गर्न लागेको बताइएको थियो । तर, पहिलो चरणको लकडाउन लगत्तै छायाँकन शुरु गर्ने निर्माणपक्षको योजना कोरोना महामारीको दोस्रो लहरका कारण रोकियो ।

निषेधाज्ञा हटेपछि चलचित्रको काम अगाडि बढाएर पोखरामा भव्य स्टुडियो पनि बनाइएको छ । तर, अहिले कलाकार र स्क्रिप्टको लफडामा चलचित्र परिरहेको छ । चलचित्रको वर्कसपमा सहभागी भएकी नायिका मलिका महतले वर्कसप सकिएलगत्तै चलचित्र छाडिन् ।

उनले छाडेपछि निर्माता र निर्देशकलाई अर्की नायिका खोज्नमा नै रस्साकस्सी देखियो । वर्कसप सकिएपछि नायिका नै परिवर्तन गर्नु परेपछि निर्देशक शंकर कार्की र निर्माता सापकोटाले स्क्रिप्टको केही अंश नै परिवर्तन गरे ।

चलचित्रको स्क्रिप्ट परिवर्तन गर्दै जाँदा एउटा राम्रो केमियो भूमिका समेत निस्कियो । यो भूमिकाका लागि फेरि निर्माता चलेकै नायकको खोजीमा लागे । तर, फेरि अहिले यो केमियो भूमिका स्क्रिप्टबाट हटाइएको छ ।

चलचित्रका लागि राजेश हमाल, अनुपविक्रम शाही, पल शाह, उपासना सिंह ठकुरी, नीलम चन्द अनुबन्धित भइसकेका छन् । अझै पनि केही कलाकार फाइनल गर्न नै बाँकी छ । रेशम पुस १ गतेबाट चलचित्रको छायांकन शुरु हुने तयारीमा आफूहरु लागेको बताउँछन् । तर, चलचित्र छायांकन अगाडि नै गञ्जागोलमा फसिरहेको छ ।

सम्बन्धित खवर