फिल्म ‘लाखे’ निर्माण हुने भएको छ । ‘पासवर्ड’ निर्देशक सम्राट बस्नेतले मल्टिस्टार कलाकार लिएर फिल्म बनाउन लागेका हुन् । फिल्मका लागि सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा लगायतका कलाकार फाइनल भएका छन् ।
फिल्मका लागि अझै केही कलाकार छनौटको क्रममा छन् । बाँकी कलाकार अडिसनमार्फत छनौट हुने निर्देशक बस्नेतले बताए ।
‘प्रतिभा भएर पनि अभिनय अवसर नपाएका र कला क्षेत्रमा करियर बनाउन चाहनेलाई अवसर दिन अडिसन गर्न लागिएको हो’ निर्देशक बस्नेतले भने, ‘अडिसनले फिल्म क्षेत्रमा नयाँ तथा प्रतिभावान व्यक्ति पाउँछ भन्ने विश्वास छ ।’
फिल्मको करिब आधा दर्जन चरित्रका लागि कलाकार अडिसनमार्फत छान्न लागिएको हो । निर्देशक बस्नेतकाअनुसार फिल्मका लागि १८ देखि २४ बर्षसम्मको एक मुख्य अभिनेत्री, ८ देखि १० वर्षको एक बालकलाकार, १७ देखि २४ वर्षसम्मको एक महिला कलाकार र २६ देखि ५० वर्षसम्मको १० पुरुष सहायक कलाकार छानिनेछ ।
कलाकार छनौटका लागि अडिसन आगामी शनिबार अर्थात मंसिर १८ गते कान्तिपुर फिल्म एकेडेमीमा बिहान १ : ३० बाट राखिएको फिल्मका कार्यकारी निर्माता हरि मल्ल ठकुरीले जानकारी दिए ।
अडिसन फिल्ममा करियर बनाउन चाहने जो कोहीले दिन सक्नेछन् । ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रालि र औरियन प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन् ।
कथा समेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् । ठुलो बजेटमा निर्माण हुने बताइएको फिल्मको नाम ‘लाखे’ राखिएपनि नेपाली संस्कृतिमा रहेको लाखे परम्परा बिषयबस्तुमा पुरै नसमेटिएको निर्देशक बस्नेतले बताए ।
‘नेपालको संस्कृतिमा रहेको ‘लाखे’ परम्पराको प्रचार गर्ने उदेश्यले फिल्मको नाम जुर्याइएको हो’ निर्देशक बस्नेतले भने । फिल्मको छायाँकन पुसबाट सुरु हुनेछ ।